

काठमाडौं– गुणस्तरहीन खाद्यवस्तु बिक्री गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यवसायीलाई कारबाही गर्न सरकार उदासीन देखिएको छ । खानका लागि अयोग्य हर्लिक्स, बर्नभिटालगायत खाद्यवस्तुको बिक्री गर्दै आएको पुष्टि हुँदासमेत मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुपमाथि कारबाही गरिएको छैन ।
नेपालमा हर्लिक्स, बर्नभिटालगायतका वस्तुको आयात तथा बिक्री वितरण विशाल ग्रुपले गर्दै आएको छ । भ्रामक विज्ञापन गरेर बिक्री गरिरहेका यी खाद्यवस्तु खानअयोग्य रहेको पाइएको थियो । तर, सरकारी कर्मचारीलाई प्रभावमा पारेर विशाल ग्रुप कारबाहीबाट उम्किँदै आएको देखिन्छ ।
विशाल ग्रुपले गुणस्तर परीक्षणको सामान्य प्रक्रियामात्र पूरा गरी हर्लिक्स, बर्नभिटालगायत खाद्यवस्तु आयात गरिरहेको स्रोतले बताएको छ । यी वस्तु नेपाली बजारमा भ्रामक विज्ञापन गरेर बिक्री गर्दै आएकोे पाइएको छ । शुद्ध गहुँ र जौबाट बनेको भन्दै प्रचार गरिएको हर्लिक्स र बर्नभिटाको धुलोमा चिनी र अखाद्य केमिकल मिसावट गरिँदै आएको पाइएको छ, जुन मानव शरीरका लागि हानिकारक हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ । विभिन्न अध्ययनले समेत यी खाद्यवस्तु स्वास्थ्यका लागि घातक हुने पुष्टि गरिसकेको छ ।
विशाल ग्रुपले अन्तर्राष्ट्रिय बजारमा म्याद सकिएका तथा म्याद सकिन लागेका हर्लिक्स र बर्नभिटा नेपालमा भित्र्याउँदै नयाँ मिति (रिलेबलिङ) राखेर बजारमा पठाउने गरेको पाइएको छ । चकलेट, ट्याङ र आलु चिप्सलगायतका उपभोग्य वस्तु पनि म्याद सकिएपछि पुनः नयाँ मिति राखेर बजारमा पठाउने गरेको पाइएको छ । महँगो मूल्य निर्धारण अखाद्यवस्तु बिक्री गरी मानव स्वास्थ्यमाथि खेलवाड भइरहँदासमेत सरकारी निकायले आवश्यक कारबाही नगरी विशाल ग्रुपलाई उन्मुक्ति दिइरहेको छ । सरकारी निकायबाट अनुगमन र कारबाही नहुँदा विशाल ग्रुपलगायतका व्यावसायिक घरानाहरूले ठूलो लाभ उठाउँदै आएको छ । अर्कोतर्फ सरकारी ढुकुटीमा जम्मा हुनुपर्ने राजस्व भने छली हुँदै आएको छ ।
विशाल ग्रुपले स–साना बालबालिकालाई खुवाइने हर्लिक्स, बोर्नभिटादेखि ट्याङ, चकलेट र आलु चिप्सको म्याद सच्याउन कलंकीमा कारखाना नै स्थापना गरेको अनुगमनका क्रममा फेला परेको थियो । जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले विशाल गु्रपको कंलकीस्थित अमेजन र आयान डिस्ट्रिब्युटर्सको गोदाममा छापा मारेको थियो ।
त्यस क्रममा म्याद गुज्रिसकेका ओरियो बिस्कुट, स्निकर्स र मार्स चक्लेट, ट्याङ जुस, बर्नभिटा, हर्लिक्सलगायत वस्तुमा म्याद सकिएका सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै गरेको फेला परेको थियो । सोही आधारमा प्रहरीले अनुसन्धान गरी कारबाहीका लागि पठाएको थियो । मानव स्वास्थ्यसँग प्रत्यक्ष रूपमा खेलवाड गरेको ठहर प्रहरीको प्रतिवेदनमा थियो । तर, प्रहरीले कारबाहीका लागि पठाएको फाइल अहिलेसम्म ‘पेन्डिङ’ मै राखिएको पाइएको छ । यसरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने व्यावसायिक घरानाहरूले सरकारी निकायबाट उन्मुक्ति पाइरहनु आपत्तिजनक भएको उपभोक्तावादी संस्थाका प्रतिनिधिहरू बताउँछन् ।
अन्तर्राष्ट्रिय व्यापार, बैंक तथा फाइनान्स, अटोमोबाइल्स, उत्पादनमूलक उद्योग र शिक्षा क्षेत्रमा लगानी रहेको विशाल ग्रुपले लामो समयदेखि अवैध धन्दामार्फत् राजस्व छली गर्दै आएको छ । जगदीश अग्रवाल नेतृत्वको यो समूहको निर्देशक अनुज अग्रवाल चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा हार खाएपछि समानान्तर संस्थाका रूपमा खोलेको नेपाल उद्योग परिसंघको पदाधिकारीसमेत हुन् । चौधरी ग्रुपमार्फत् सत्ताको आडमा कारबाही हुनबाट जोगिँदै आएको आरोपसमेत अग्रवालमाथि लागेको छ ।
विशाल ग्रुपले गुणस्तरहीन खाद्यवस्तु बिग मार्टसहित विभिन्न सुपर मार्केटहरूमा पठाउने गरेको पाइएको छ । यो ग्रुपले नेपालभर ५० भन्दा बढी स्टोरहरूमा सामान पठाउने गरेको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न जारी गरिएको लकडाउनको समयमासमेत यो समूहले अवैध कारोबारलाई तीव्रता दिएको पाइएको छ । उक्त ग्रुपको बदमासीबारे सार्वजनिक भएपछि वेबसाइट बन्द गरेर सामाजिक सञ्जालसमेत प्रयोग गर्न छोडेको छ । ओरियो बिस्कुट, स्निकर्स चकलेट, बालबालिकाले खाने बर्नभिटा, हर्लिक्स, आलु चिप्स, ट्याङ जुसलगायत म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ मिति राखेर विशाल गु्रपले विशाल गु्रपकै स्वामित्वमा रहेको बिग मार्टमार्फत् बिक्री गर्दै आएको स्रोतको भनाइ छ । बिग मार्टमा विशाल गु्रपको ४० प्रतिशत सेयर रहेको छ । उक्त ग्रुपको सेयर रहेको बिग मार्टमा रहने अधिकांश खाद्य सामग्री विशाल ग्रुपकै रहेका छन् ।
एक अध्ययनबाट बालबालिकाले खाने दूधमा प्रोटिनको रूपमा ‘मेलामाइन’ नामक हानिकारक केमिकल मिसाइएको पाइएको छ । अत्यधिक चिनी मिसाइएको हर्लिक्स र बर्नभिटाको भ्रामक विज्ञापनगरी बालबालिकालाई प्रलोभित पार्ने काम विशाल ग्रुपले गरिरहेको छ । बालबालिका स्वस्थ, तन्दुरूस्त, अग्ला र बलिया हुने भन्दै गरिएको विज्ञापनले यी वस्तुको बिक्री बढाएको देखिन्छ । तर यी खाद्यवस्तुले बालबालिकालाई स्वस्थ बनाउनेभन्दा पनि उनीहरूको स्वास्थ्यमा गम्भीर असर पु¥याउने स्वास्थ्यकर्मीको भनाइ रहेको छ । पोषणका जानकारहरूको अध्ययनले हर्लिक्स र बर्नभिटा जस्ता पेयपदार्थ बच्चाहरूको लागि हानिकारक रहेको र यसले बाल्यकालमा बच्चाबच्चीलाई अत्यधिक मोटो बनाउने देखाएको छ । यसले पछि बालबालिकालाई रोगी बनाउने अध्ययनको निश्कर्ष छ ।
हर्लिक्स र बर्नभिटामा प्रयोग गरिने सम्मीश्रणले टाउको दुख्ने समस्या बढाउनुका साथै मांसपेशी कमजोर बनाउने र उच्च रक्तचापको समस्या निम्त्याउने स्वास्थ्यकर्मीहरूको ठहर रहेको छ । त्यस्ता वस्तु खुवाउँदा बालबालिकाहरू दीर्घरोगी हुनेसमेत बताइएको छ । राष्ट्रिय उपभोक्ता मञ्चले अखाद्यवस्तु बिक्री गरी जनस्वास्थ्यमाथि खेलवाड गरिरहेको विशाल ग्रुपमाथि कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेको थियो । तर, अहिलेसम्म कारबाही भएको छैन । यसले सरकार जनस्वास्थ्यप्रति संवेदनशील नरहेको पुष्टि गरेको मञ्चका पदाधिकारीहरू बताउँछन् ।