काठमाडाै - चीनसँगका व्यापारिक नाका चाँडो निर्वाध रूपमा सञ्चालन गर्न सरकार क्रियाशील भएकाे जनाएकाे छ ।
चीनसँगका व्यापारिक नाका निर्वाध ढङ्गले सञ्चालन नहुँदा मुुलुकलाई आर्थिकरूपमा अप्ठ्यारो परेको तथा निर्यात ठप्प प्रायः हुँदा जटिलता थपिएकाले समस्याको शीघ्र निकासका निम्ति सरकारले बेइजिङसँग कूटनीतिक प्रयत्न भइ सरकार क्रियाशील भएकाे परराष्ट्रमन्त्री डा नारायण खड्काले बताएकाे हुन्।
मालबाहक सवारीसाधनको सङ्ख्या बढाउनका लागि चिनियाँ पक्षसँग कूटनीतिक प्रयत्न भइरहेको स्पष्ट गरेको बताइएकाे छ ।
चीनका विदेशमन्त्री वाङ यीसँगको टेलिफोन वार्ता तथा अन्य चिनियाँ अधिकारी र नेपालका लागि चिनियाँ राजदूतलाई आफूले व्यापारिक नाकाको प्रभावकारी सञ्चालनका निम्ति अनुरोध गरेको परराष्ट्रमन्त्री डा.नारायण खड्काले बताएका छन् ।
मन्त्री खड्काले छ महिनाअघि परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेकाे अवधिमा आफूले गरेका कामबारे जानकारी दिन पहिलोपटक पत्रकार सम्मेलन गर्दै नेपालको आग्रहलाई चीनले स्वीकार गरेर व्यापारिक नाकामा उत्पन्न समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।
कोभिड–१९ को महामारीका कारण चीनसँगका प्रमुख व्यापारिक नाकामा केही समस्या भएको र त्यसलाई समाधान गर्न चीनले सकारात्मक जवाफ दिएको बताउँदै उहाँले भन्नुभयो, “निर्वाधरूपमा आयात/निर्यातको प्रक्रियागत तहमा सञ्चार र समन्वयका लागि दुई देशका स्थानीय अधिकारीबीच प्रत्यक्ष सम्पर्क स्थापना गरिएको छ ।”
गोर्खालगायत सीमा क्षेत्रमा खाद्यान्न आपूर्तिमा सहयोग गर्न तथा नेपाली विद्यार्थीलाई पुनः चीन फर्कने वातावरण बनाउन पनि आफूले सबै उच्चस्तरीय भेटवार्तामा चिनियाँ पक्षलाई अनुरोध गरेको मन्त्री खड्काले जनाए ।
यसका साथै वर्तमान सरकारका न्यूनतम साझा कार्यक्रममा उल्लेख भएअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत सिमानासम्बन्धी भारतसँगका सबै समस्या वार्ताको माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले भने “त्यस निम्ति हामीले शान्त कूटनीति अवलम्बन गरेका छौँ,” ।
राजदूत नियुक्तिमा विलम्ब नहुने पनि उनले जनाए ।सरकारले राजदूत नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको तथा बेलायत र अमेरिकाका लागि राजदूत नियुक्त भइसकेका बताएका छन् ।