

काठमाडौं– पछिल्लो समय स्मार्टवाच (घडी)प्रति युवाहरूको आकर्षण बढेसँगै नेपालमा यसको माग उच्च बन्दै गएको छ । मोबाइल तथा इलेट्रोनिक्स पसल तथा अनलाइनमार्फत् स्मार्ट वाचको बिक्री भइरहेको छ । यसरी बिक्री भइरहेका स्मार्ट वाच केही कम्पनीले भन्सार छलेर ल्याउने गरेको खुलेको छ ।
विभिन्न कम्पनीले भन्सार राजस्व छली गर्दै नेपालमा भित्र्याएर अनलाइनमार्फत् बिक्री गर्दै आएको पाइएको हो । ती कम्पनीले भन्सारका कर्मचारीसँगको मिलेमतोमा न्यून मूल्यांकन तथा विनाभन्सार नेपाल भित्र्याउने गरेकोसमेत भन्सार कार्यालय स्रोतको भनाइ छ । यसरी भन्सार छलेर स्मार्ट वाच भित्र्याउनेमा हाइटेक मोबाइल्स प्रालि र माउण्ट एभरेस्ट ट्रेडर्स नामक दुई कम्पनी बढी सक्रिय रहेको खुलेको छ । यी दुई कम्पनीले विदेशबाट भन्सार राजस्व छलेर स्मार्टवाच ल्याउने गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीसँगको साँठगाँठमा विनाभन्सार ब्राण्डेड स्मार्ट वाच भित्र्याइरहेको आरोप लागेको छ । यी कम्पनीले राजस्व छलेर भित्र्याएका स्मार्ट वाच देशभर आफूखुसी मूल्य निर्धारण गरेर बिक्री गर्दै आएका छन् ।
दुई कम्पनीका सञ्चालकले भन्सार प्रमुखसँग सेटिङ मिलाएर उक्त कार्यालयबाट तोकिएका केही जाँचकीलाई खटाइ विनाभन्सार सामान छुटाउँदै आएको एक व्यवसायीले बताएका छन् । उनका अनुसार नेपालमा स्मार्ट वाचको माग बढ्दै गएपछि त्यही मौका छोप्दै हाइटेक मोबाइल्स र माउण्ट एभरेस्ट ट्रेडर्सले अवैध कारोबार गर्दै आएका छन् । आयातकर्ताले भन्सारका कर्मचारीसँग साँठगाँठ गरेर न्यून मूल्यांकनमा भन्सार पास गराएको भेटिएको छ । यसरी अवैध रूपमा स्मार्ट वाचनेपाल भित्रिरहेको बारे अर्थ मन्त्रालयसमेत जानकार रहेको बताइएको छ । तर, अहिलेसम्म यसबारे अनुसन्धान गरिएको छैन । विमानस्थल भन्सार कार्यालयका प्रमुखले भने त्यहाँबाट अवैधरूपमा स्मार्ट वाच नभित्रिएको दाबी गर्दै आएका छन् ।
भन्सार कार्यालयले स्मार्ट वाचको आयातको तथ्यांकसमेत सार्वजनिक गर्न आनाकानी गर्दै आएको छ । हाइटेक मोबाइल्सले सबैभन्दा बढी स्मार्ट वाच नेपालमा भित्र्याइरहेको उक्त कम्पनीनिकट एक व्यवसायीले बताएका छन् । अन्य कम्पनीले स्मार्ट वाचको १२० डलर भन्सार मूल्यांकन गरेको तथ्यांक भेटिएको छ । तर, हाइटेक र माउण्ट एभरेस्टले भित्र्याएका स्मार्ट वाचको मूल्यांकनदुई डलरमात्र उल्लेख गरेको पाइएको छ ।
भन्सार विभागबाट उपलब्ध गराइएको तथ्यांकअनुसार माउण्ट एभरेस्टले अहिलेसम्म सात हजर ब्राण्डेड स्मार्ट वाच भित्र्याएको पाइएको छ । तर, उसले जम्मा नौ लाख रूपैयाँमात्रै राजस्व बुझाएको भेटिएको छ । हाइटेकले दुई हजारभन्दा बढी थान स्मार्टवाच भित्र्याएको भए पनि राजस्व ९३ हजार ३३८ रूपैयाँमात्र बुझाएको भन्सार कार्यालयको रेकर्डमा उल्लेख छ ।
यस्तै आइहव प्रालिले ८०० थान स्मार्ट वाचकोे १२ लाख ८० हजार रूपैयाँ राजस्व बुझाएको छ । यी कम्पनीले एउटै ब्राण्ड र मोडलका स्मार्ट वाच भित्र्याएको पाइएको छ । स्मार्ट वाच आयात गर्दा २० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था छ । वास्तविकभन्दा कम मूल्य देखाएर सामान भित्र्याउने कार्यमा सरकारी कर्मचारीकै संलग्नता रहेको भएपनि अहिलेसम्म कसैलाई कारबाही गरिएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमै भन्सार छलेर स्मार्ट वाच भित्रिने क्रम नियन्त्रणभन्दा बाहिर गएकोसमेत भन्सारकै एक कर्मचारीको भनाइ रहेको छ ।
अवैध रूपमा नेपाल भित्र्याइएका त्यस्ता स्मार्ट वाचलाई न्यूनतम १९ हजार रूपैयाँभन्दा माथि मूल्य निर्धारण गरेर बिक्री गरिँदै आएको छ । खासगरी ब्राण्डेड स्मार्टवाच न्यून विजकीकरण भएर ठूलो परिमाणमा नेपाल भित्रिँदा आधिकारिक रूपमा आयात गरेर व्यापार गर्ने व्यवसायीहरू मर्कामा परेका छन् । दुई महिनाको अवधिमा वैधरूपमा चार हजार थानमात्र स्मार्टवाच भित्रिएको रेकर्ड भन्सार विभागसँग भेटिएको छ । बाँकी सबै सेटिङबाटै विनाभन्सार सामान छुटाउँदै आएको देखिन्छ ।
९५ प्रतिशतभन्दा बढी भन्सार छलेर ठूलो परिमाणमा स्मार्ट वाच नेपालमा भित्र्याउने हाइटेक मोबाइल्स प्रालिका सञ्चालक सिर्जना गुरुङ र वीरेन्द्रजंग पाण्डे रहेको खुलेको छ । यो कम्पनीले विगत तीन वर्षदेखि गैरकानुनी रूपमा स्मार्ट वाच भित्र्याउँदै आइरहेको व्यवसायीको आरोप छ । उक्त कम्पनीमा गुरुङको ६९ हजार कित्ता र पाण्डेको नाममा ७० हजार कित्ता सेयर रहेको पाइएको छ । पाण्डे तथा गुरुङले एयरपोर्ट भन्सारका अधिकारीसँग सेटिङ मिलाएर सामान ल्याउने कार्य गर्दै आएको स्रोतको भनाइ छ । हाइटेकलगायतका कम्पनीले भ्याट तथा भन्सार छली गरेर स्मार्ट वाच नेपालमा ल्याएर अनलाइनबाट व्यवसाय गरिरहेको देखिन्छ । अनलाइनबाट व्यापार गरिरहेकाहरूले सामान बेचे पनि भ्याट बिल दिने गरेका छैनन् ।