

काठमाडौं – लामो समय देखि नाफा कमाउदै आएको नेपाल आयल निगम पछिल्लो समय घाटा बेहार्दै आएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य लगातार बढ्दै गएकाले पछिल्लो समय निगमले घाटा व्यहोर्दै परेको हो ।
पेट्रोलियम पदार्थको मुल्य बढेर आएकाले १५ दिनमा ३ अर्ब ९ करोड घाटा बराबरको नोक्सान हुने देखिएको निगम नेपाल आयल निगमले जनाएको छ । रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव आफूहरूले पनि भोग्नु परेको निगमको भनाई रहेको छ । बढेको कच्चा तेलको मूल्यका कारण मंगलबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्याँस, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेर प्राप्त भएको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए ।
डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर चार/चार रूपैयाँ र खाना पाकाउने ग्याँसमा प्रति सिलिण्डर एक सय रूपैयाँले बढेर नयाँ मूल्य आएको उनले बताए । निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्म २४ अर्ब रूपैयाँ नोक्सानी बेहोरेको जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतीय आयल कर्पोरेसनले पनि मूल्य बढाएर पठाउँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च दरले बढेको छ । मंगलबार कच्चा तेल (ब्रेन्ट)को मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ ।
दुई साताअघि यो प्रतिब्यारेल ९२ डलरको हाराहारीमा थियो । कच्चा तेलको मूल्य बढ्दै गएकाले आगामी दिनमा पेट्रोलियम पदार्थ अझै महँगिने छ । बढेको मूल्यअनुसार समायोजन नगर्दा घाटा बढेको निगमको भनाइ छ ।
निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १६ रूपैयाँ ५९ पैसा, डिजेलमा १२ रूपैयाँ ९८ पैसा र ग्यासमा प्रतिसिलिण्डर ५६० रूपैयाँ ७४ पैसा नोक्सानी छ । मट्टितेलमा भने प्रतिलिटर २५ रूपैयाँ ६ पैसा र आन्तरिक हवाई इन्धनमा ९ रूपैयाँ ३ पैसा नाफा छ । त्यस्तै वाह्य हवाई इन्धनमा प्रतिलिटर ३९ रूपैयाँ ९१ पैसा नाफा छ ।
यसैबीच नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको बताइएको छ। भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रूपैयाँ, डिजेल ३.०८ रूपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रूपैयाँ बढेर आएको छ ।
यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रूपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रूपैयाँ बढेको आयल निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए । मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रूपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रूपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रूपैयाँ पुगेको निगमले जनाएको छ ।