
काठमाण्डौ- सुनको भाउ बिहीबार एकैदिन तोलामा २ हजार ५०० रुपैयाँले बढेको छ । बुधबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार बढेर ९९ हजार रुपैयाँमा पुगेको हो ।
सुनको भाउ अझै बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताएका छन् । सुनको भाउ यसरी बढ्नुको मुख्य कारण अहिले रुस र युक्रेनको विवाद नै भएको उनले बताए ।
युक्रेनमा रूसको हस्तक्षेपसँगै विभिन्न युरोपेली देशसहित अमेरिकाले प्रतिबन्ध लगाएको छ । यसकै कारण सुनको बजारमा असर परेको शाक्यले बताएका छन् । यस्तै बिहीबार चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।