

काठमाडौँ -वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमनमा आठ सय ६३ फर्म कारबाहीमा परेको छ । वाणिज्य विभागले चालु आवको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाहीमा गरेको हो ।
विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यका लगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो । अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु ८९ लाख ८० हजार राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पङ्गेनीले जानकारी दिएका हुन् । सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिने गरिएको उनले जनाए ।
सात महिनाका अवधिमा विभागले आठ सय ६३ फर्मलाई जरिवाना तोकेको छ भने आठ सय २३ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिएको थियो । यस्तै, १६ फर्मबाट परीक्षण गर्न वस्तुको नमूना सङ्कलन र साधनसहित तीन जनालाई प्रक्राउ गरेको विभागले जनाएको छ । विभागका अनुसार ब्राह्र फर्मको कारोबार भने रोक्का गरी सिलबन्दी गरिएको थियो ।
यस्तैगरी उक्त अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएकोले रु २८ लाख ५५ हजार ३१८ बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । विभागले सात महिनाको अवधिमा सबैभन्दा धेरै फार्मेसी पसलको अनुगमन भएको जनाएको छ ।
तथ्याङ्क अनुसार उक्त अवधिमा एक सय ६ फार्मेसी पसलको अनुगमन गरिएकामा ३३ वटालाई कारबाहीस्वरुप जरिवाना गरिएको थियो ।यस्तै, ५३१ खाद्यान्न तथा किराना, १५६ कस्मेटिक तथा कपडा पसल, ८ स्टेशनरी पसल, ४८ अण्डा तथा मासु पसल, २८ मार्ट, २७ मदिरा तथा पेय पदार्थ, ५५ फलफूल तथा तरकारी पसल, ४९ दुग्धजन्य पदार्थ तथा बेकरी र ७५४ अन्य उद्योगको अनुगमन गरिएको थियो ।
नियमित रुपमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाइ तथा इलोक्ट्रोनिक्सलगायतका पसलको अनुगमन गर्दै आएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले बताएको छ ।