

काठमाडौं-राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैंयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक रुपमा बिक्री खुला गरेको हो ।
कम्पनीले बिक्री गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९४ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले आह्वानपत्रमा जारी गरेको छ ।
यही फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि बिक्री शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । मागबमोजिम आवेदन नआए फागुन १८ गतेसम्म शेयर निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको हाल चुक्ता पूँजी रु १७ करोड ५० लाख रहेकामा सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँडपश्चात चुक्ता पूँजी रु २६ करोड पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपि आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ ।टिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।