

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकले बढेको छ । मंगलबार पुँजीबजार मापक परिसूचक ‘नेप्से’ ५३.३० अंकले बढेको हो ।
यस दिन समग्रमा १.९७ प्रतिशतले बढेर नेप्से २७८४.२८ बिन्दुमा उक्लिएको छ । सोमबार नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ बिन्दुमा पुगेको थियो । मंगलबार ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १०.८३ अंकले बढेर ५२२.१३ बिन्दुमा पुगेको छ ।
यस दिन जलविद्युत् कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युत् समूहको सूचक सबैभन्दा धेरै ४.३२ प्रतिशतले बढेको छ । बाँकी सबै समूहको सूचक पनि सकारात्मक बनेको छ ।मंगलबार कूल तीन अर्ब २३ करोड ३३ लाख १८ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।
सोमबार तीन अर्ब ६८ करोड ४० लाख रूपैयाँको कारोबार भएकोमा मंगलबार कूल कारोबार रकम घटेको हो ।मंगलबार कूल २२४ वटा कम्पनीका ४३ हजार ५१९ कित्ता सेयर ६३ लाख ४३ हजार २२८ पटक किनबेच भएका छन् । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी लिमिटेड अग्रस्थानमा रह्यो ।
मंगलबार उक्त कम्पनीको २२ करोड ७७ लाख ३९ हजार रूपैयाँ बराबरको सेयर भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सबैभन्दा धेरै चार लाख ७८ हजार ३३८ कित्ता कारोबार भएका थिए । कारोबार संख्याका आधारमा भने नेसनल हाइड्रोपावर कम्पनी अगाडि रह्यो । यस कम्पनीका सेयर मंगलबार दुई हजार १९८ पटक किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।