

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरे को अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनले अछाम घर भइ भारतको मुम्बई बस्ने जगत ओलीलाई गाली गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो ।
मन्त्री आलेले अश्लील शब्द प्रयोग गरेपछि उनी आलोचित भएका छन् । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।निरन्तररूपमा मन्त्री आले तथा नेकपा एकीकृत समाजवादीका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् ।
सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवम् व्यक्तिगत विषयलाई अनधिकृतका रूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन् ।मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भइ अहिले भारतको मुम्बई बस्दै आएका जगत ओलीको नामबाट निरन्तररूपमा ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र त्यही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।
मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षड्यन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरिएको छ । नेता आले समाजवादीमा आबद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलैज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लील शब्द प्रयोग गर्दै आएको भन्दै सचिवालयले दुःख व्यक्त गरेको छ ।