

काठमाडौं– शक्ति र पैसाकै आडमा मापदण्डविपरीत बनाइएका अधिकांश हाउजिङ कम्पनीहरूले ग्राहकहरूलाई विभिन्न बहानामा ठगी गर्दै आएको भेटिएको छ । पछिल्लो समयमा ग्रिनहिल सिटी हाउजिङले आफ्ना उपभोक्तालाई सम्झौता गरेर पैसा लिएपछि भनिएको भन्दा कम जग्गा दिँदै ठगी गर्ने गरेको प्राप्त कागजातबाट खुलेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवास योजना सञ्चालन गर्दै आएको ग्रिनहिल सिटीले घर खरिद गर्ने धरै ग्राहकलाई सम्झौताविपरीत कम जग्गा पास गरिदिएर ठगी गर्ने गरेको पाइएको होे ।
उक्त कम्पनीको इमाडोलस्थित ग्रिनहिल सिटी रेसिडेन्सीको घरजग्गा खरिद–बिक्रीको करार सम्झौता गर्दा २२६ दशमलव ८६ वर्गमिटरको पैसा असुले पनि मालपोत कार्यालयबाट जग्गाधनी प्रमाण पुर्जामा क्षेत्रफल १९४ दशमलव ८६ वर्गमिटरको मात्रै भएको पाइएको छ ।हाउजिङ कम्पनीले सम्झौतापत्रमा प्रतिबद्धता जनाएअनुसारको स्विमिङ पुलसहितका विभिन्न सुविधासमेत नदिएको पीडितपक्षको आरोप रहेको छ । इमाडोललगायत अन्य स्थानमा रहेको रेसिडेन्सीका ९० भन्दा बढी ग्राहकले यस्तो समस्या बेहोर्नुपरेको देखिएको छ ।
उक्त रेसिडेन्सीको एक घर ३ करोड रूपैयाँभन्दा बढी मूल्यमा किन्ने सम्झौता गरेको भए पनि सोअनुसार जग्गा नभएको र कम जग्गा दिएर ठगी गरेको पाइएको हो । प्राप्त कागजातअनुसार हाउजिङ कम्पनीले सम्झौताअनुसारको जग्गा नदिएर ठगी गरेको पुष्टि भएको छ । हाउजिङ कम्पनीबाट भएको ठगीमा दोषीलाई कारबाही गर्न प्रहरीको अपराध अनुसन्धान शाखामा निवेदन दिएको भए पनि ग्रिनहिल सिटीका दिपुध्वज अधिकारीमाथि कारबाही नभएको गुनासो पीडितपक्षले गरेको छ ।
एकातर्फ ग्राहकमाथि ठगीधन्दा चलाउँदै आएको ग्रिनहिल सिटी हाउजिङले अर्कोतर्फ विभिन्न बैंकबाट लिएको ऋणसमेत नबुझाइ बसेको भेटिएको छ ।सम्झौताविपरीत ग्राहकलाई कम जग्गा दिएको र निजले बैंकबाट ऋण लिएर तिरेको रकमसमेत लुकाएका कारण उक्त कम्पनी कालोसूचीमा राखी कारबाही गरिने तयारी हुँदै गर्दा शक्तिकेन्द्रको दबाबमा सो कारबाहीसमेत नभएको पीडितको भनाइ रहेको छ । पीडितहरूले आफू ठगिएको भन्दै ग्रिनहिल सिटीसहित ऋण लिएको बैंक सेञ्चुरी र नेपाल राष्ट्र बैंकसमेतलाई विपक्षी बनाएर मुद्दा दायर गरेको भए पनि न्याय नपाएको गुनासो गरेका छन् ।
साथै, सोही घर खरिदका क्रममा सेञ्चुरी बैंकबाट लिएको ऋणमध्ये एक करोड रूपैयाँ प्राप्त गरेपछि लामो समयसम्म त्यसको जानकारी दिने तथा ‘रिसिभ’ बिल उपलब्ध गराउने काम नगरिएको, बारम्बार विभिन्न बहानामा दबाब दिने काम गरेको पीडितको भनाइ छ ।पीडितपक्षले त्रिपक्षीय सम्झौताअनुसार बैंकले सोझै ग्रिनहिल सिटीलाई रकम उपलब्ध गराइसकेपछि त्यसलाई लुकाएर राख्ने काम गर्नु बद्नियतपूर्ण रहेको, आफूसँग गरेको सम्झौताभन्दा कम जग्गा मालपोत कार्यालयमा भएबाट बैंकले घरजग्गाको कम मूल्यांकन गरी ३० लाख रूपैयाँ कम ऋण दिएकाले आफूलाई कोरोना महामारीको विषय परिस्थितिमा हाउजिङ तिर्नुपर्ने बाँकी रकमका साथै आफूले गर्नुपर्ने घरको फिनिसिङको काम गर्न असमर्थ भएको, त्यस्तो परिस्थितिमा बैंक र हाउजिङ कम्पनीबाट रकम तिर्न दबाब दिने काम भएको बताए ।
पीडितपक्ष र उनका वकिलहरूले ग्रिनहिल सिटीबाट बद्नियतपूर्ण ढंगबाट बैंकबाट प्राप्त रकम लुकाउने काम गरेकाले बैंकिङ कसुरसम्बन्धी कानुन आकर्षित हुने भन्दै कम्पनीमाथि कारबाही हुनुपर्ने बताए पनि अहिलेसम्म कारबाही भने हुन सकेको छैन ।