
काठमाडौं– सरकारले आन्तरिक तथा वैदेशिक रोजगारीमा सम्मलित श्रमिकहरूलाई लक्षित गर्दै अस्पताल निर्माणका लागि पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गरेको छ ।
मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा टोली गठन गरिएको हो । टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिका साथै संयुक्त ट्रेड युनियन महासंघका प्रतिनिधि छन् । उक्त टोलीले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्नेछ ।
देशको आर्थिक विकास र समृद्धिको आधारका रूपमा रहेका लाखौ“ श्रमिकलाई भरपर्दो र सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्माण गर्न लागिएको मन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् । आन्तरिक श्रमिक तथा उनीहरूको परिवारका सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने, पेसागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल विकास गर्ने, योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था कार्यान्वयन गराउने अस्पताल स्थापनाको उद्धेश्य तय गरिएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा उनीहरूको परिवारका सदस्यका लागि सहुलियतमा उपचार सेवा उपलब्ध गराउने अस्पताल सञ्चालनको उद्देश्यमा उल्लेख छ । यसअघि निजामती कर्मचारी, सैनिक परिवार, प्रहरी र सशस्त्र प्रहरी परिवारका लागि अस्पताल स्थापना भइसकेका छन् । त्यही मोडालिटीमा आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनको परिवारलाई लक्षित गर्दै अस्पताल निर्माणको तयारी गरिएको हो ।