
कावासोती– निरन्तर वर्षातका कारण डाइभर्सनमा क्षति पुग्दा रोकिएको राजमार्ग बिहीबार दुईतर्फीरूपमा सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित जंगलमा वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधबार बिहानबाट अवरुद्ध राजमार्ग सञ्चालनमा आएको छ ।
नारायणगढ–बुटवल सडक चार लेनमा विस्तार गर्ने क्रममा कावासोतीको खरकट्टा जंगलमा बनाइएको डाइभर्सनमा क्षति पुग्दा यातायात अवरुद्ध भएको थियो । डाइभर्सन बुधबार नै मर्मत गरिएको भए पनि हिलोका कारण सवारी वारपार हुन नसकेपछि समस्या भएको थियो । बिहीबार बिहानबाट नवलपुर क्षेत्रमा पानी पर्न रोकिएर घाम लागेसँगै मर्मतपश्चात् साँझदेखि पूर्णरूपमा यातायात सञ्चालनमा आएको थियो । त्यस्तै हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उक्त राजमार्गको गैरा, साहुँखर्क र हगुल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायात सेवा बुधबार बिहानदेखि अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए । राजमार्ग सञ्चालन भएसँगै जाममा परेका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेका थिए । हिमपातका कारण मंगलबार साँझदेखि अवरुद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । मंगलबार साँझदेखि लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए ।
नेपाली सेनाले बैतडीस्थित दशरथचन्द राजमार्गमा जमेको हिउँ हटाएको छ । हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकीे नेतृत्वको टोलीले राजमार्गअन्तर्गत देहिमाडौँ, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो । मंगलबार साँझदेखि परेको बाक्लो हिमपातले राजमार्ग अवरुद्ध र जनजीवन प्रभावित हुन थालेकाले सडकको हिउँ हटाइएको हो । यस्तै भारी हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द र जयपृथ्वी राजमार्ग सुचारु भएको छ । खोडपे, अनारखोली, ढोल्यामोडलगायतका क्षेत्रमा जमेको हिउँका कारण बुधबार बिहानैदेखि अवरुद्ध बनेका राजमार्ग दिउँसोपछि सुचारु भएको छ ।