काठमाडौं– लगातारको वर्षासँगै देशको विभिन्न भूभागमा बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति भएको छ। शनिबार राति अबेरसम्मको विवरणअनुसार चार जनाले ज्यान गुमाएका छन्।
रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया बेगमाया दमाईको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–११ स्याउलीबारकी दमाईलाई लहुँबाट सिम्रुतु खोला तरेर स्याउलीबजार जाने क्रममा खोलाले बगाएको थियो।
करिब २०–२५ मिटर तल बगाएपछि स्थानीयवासी र प्रहरीले उनको उद्धार गरेका थिए। उद्धार गर्दा उनी अचेत अवस्थामा थिइन्। जिल्ला अस्पताल सल्ले पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
डोल्पामा पहिरोबाट खसेको ढुंगा लागेर ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडागाउँको रावलवाडामा त्रिपालको गोठमा सुतिरहेका बेला माथिबाट खसेको ढुंगाले लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा ३८ वर्षीय चन्द्ररूप केसी सामान्य घाइते भएका छन्।
बागलुङको ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोमा पुरिएर ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको छ। घरमाथिबाट खसेको पहिरोले उनलाई सुत्ने कोठामै पुरेको प्रहरीले जनाएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ढुस्टुङमा पहिरोले बेपत्ता बनाएकी ५९ वर्षीया कृष्णकुमारी सारुको शव पनि भेटिएको छ।
वर्षाका कारण देशका धेरै ठाउँमा जनजीवन प्रभावित भएको छ। सडक सञ्जाल अवरुद्ध हुँदा उद्धार, राहत तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या देखिएको छ।
- मृत्यु हुनेमा बेगमाया दमाई– ५८ वर्ष, रुकुम पश्चिम, मनरूप केसी– ३३ वर्ष, डोल्पा, मनबहादुर रोका– ५९, बागलुङ र कृष्णकुमारी सारु– ५९ वर्ष, पाल्पा
- हुम्लाको सिमिकोटमा ४८ वर्षयताकै ठूलो वर्षा, ११४.८ मिलिमिटर पानी
- देशका कम्तीमा २० वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा
- नारायणी नदीको जलसतह सतर्कता तह पार
- सुस्तामा ७० भन्दा बढी घर डुबानमा, करिब ४०० जना सुरक्षित स्थानमा सारिए
- बाढीपहिरोका कारण गुल्मी, नवलपरासी पश्चिम र कञ्चनपुरमा परिवार विस्थापित
- सुस्ताका १६३ परिवारसहित विभिन्न जिल्लाका परिवार सुरक्षित स्थानमा स्थानान्तरण
सिमिकोटमा ४८ वर्षयताकै ठूलो वर्षा
हुम्लाको सदरमुकाम सिमिकोटमा वर्षाले ४८ वर्ष पुरानो रेकर्ड तोडेको छ। सिमिकोटमा असोज ९ गते बिहान ८:४५ बजेदेखि असोज १० गते बिहान ८:४५ बजेसम्म ११४.८ मिलिमिटर वर्षा मापन भएको हो।
मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतकी प्रमुख डा. इन्दिरा कडेलका अनुसार यो सिमिकोटमा सन् १९७८ देखि हालसम्म मापन गरिएको २४ घण्टे अवधिको सबैभन्दा ठूलो वर्षा हो।
यसअघि सिमिकोटमा १९ अक्टोबर २०२१ मा २४ घण्टामा ११० मिलिमिटर वर्षा भएको थियो। त्यही वर्षालाई हालसम्मको उच्च वर्षा मानिएको थियो। तर, यसपटक ११४.८ मिलिमिटर वर्षा भएपछि उक्त रेकर्ड तोडिएको हो।
सिमिकोटमामात्रै होइन, पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कम्तीमा २० वटा वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार १०० मिलिमिटरभन्दा बढी वर्षालाई ‘धेरै भारी वर्षा’ मानिन्छ। उनले प्रभावसँग भने, ‘कम्तीमा हाम्रा २० वटा मापन केन्द्रहरूमा १०० मिलिमिटरभन्दा माथि पानी परेको मापन गरिएको छ। १०० मिलिमिटरभन्दा माथिको पानीलाई धेरै भारी वर्षा भन्ने गरिएको छ।’
उनका अनुसार म्याग्दी, कास्की, लमजुङ, मनाङ, गोरखा, स्याङ्जा, पाल्पा, अर्घाखाँची, बाँके, बर्दिया, दैलेख, कालिकोट, सुर्खेत, हुम्ला, अछाम, डोटी र डडेलधुरालगायतका क्षेत्रमा भारी वर्षा भएको छ। हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातसमेत भएको छ।

सुस्ता डुब्यो, नारायणीमा खतरा
लगातारको वर्षापछि नारायणी नदीको जलसतह सतर्कता तह पार गरेको छ। बिहीबारदेखि परेको वर्षाका कारण नदीको बहाव बढ्दै गएपछि नारायणीको पानी सतर्कता तहभन्दा माथि पुगेको हो।
नारायणी बेसिन कार्यालय, चितवनका अनुसार नदीमा पानीको सतह ८.३० मिटर पुगेको छ। नारायणीमा ७.३० मिटरलाई सतर्कता तह मानिन्छ। कार्यालयका प्रमुख सुमित अधिकारीका अनुसार नदीको बहाव निरन्तर बढिरहेको छ। उनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
नारायणीमा जलसतह बढेसँगै नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा डुबान भएको छ। नदीको पानी बस्तीमा पसेपछि ७० भन्दा बढी घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। ‘करिब एक हजार बासिन्दा हुनुहुन्छ। तर कतिपय आफन्तकहाँ जानुभएको छ भने ४०० जतिलाई हामीले सुरक्षित स्थानमा अहिले सारेका छौं,’ उनले भने।
डुबान प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षाकर्मीले स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्न सहयोग गरेका थिए।
मौसममा सुधार आउने
लगातारको वर्षाले देशभर जनजीवन प्रभावित भइरहेका बेला मौसममा भने आइतबार दिउँसोदेखि क्रमिक सुधार आउने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसोदेखि वर्षाको क्रम घट्दै जाने र सोमबारसम्म अधिकांश क्षेत्रमा मौसममा उल्लेख्य सुधार हुने छ।
हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्। मौसमविद् सञ्जीव अधिकारीका अनुसार उक्त न्यूनचापीय प्रणाली आगामी १२ घण्टामा क्रमश: कमजोर हुने सम्भावना छ। ‘आइतबार गण्डकीदेखि पश्चिमका प्रदेशमामात्रै रहने र बागमती प्रदेशमा धेरै सुधार आइसक्ने देखिन्छ,’ उनले भने।
महाशाखाका गण्डकीदेखि पश्चिमसम्म मात्रै वर्षाको प्रभाव रहने र बागमती प्रदेशमा मौसममा सुधार आइसक्ने पूर्वानुमान छ। यसपटकको भारी वर्षाले हिमाली, पहाडी तथा तराईका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढाएको छ।

११ राजमार्ग अवरुद्ध
अविरल वर्षापछि गएको पहिरोले गर्दा देशको विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। काभ्रेको रोशी खोलाले डाइभर्सन बगाउनुका साथै विभिन्न स्थानमा पहिरो गएपछि पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने बिपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। कृष्णभीरलगायत क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्गसमेत अवरुद्ध भएको छ।
पहिरोका कारण कालीगण्डकी करिडोर र मनाङको चामे–बेंसीसहर सडकखण्ड पनि पूर्णरूपमा बन्द भएका छन्। हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीमा पहिरो जाँदा महेन्द्र राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। बाढीका कारण पासाङल्हामु सडकखण्डसमेत अवरुद्ध छ। लगातार पानी परिरहेकाले थप पहिरो र बाढीको जोखिम बढेको छ।
प्रहरीले जोखिमयुक्त सडकमा रात्रिकालीन आवतजावतमा रोक लगाएको जनाएको छ। सडक खुलाउन सम्बन्धित निकायले पहिरो पन्छाउने काम गरिरहेका छन्। यस्तै, प्रहरीले सुदूरपश्चिम प्रदेशको सात जिल्लामा आजसम्मका लागि सवारी आवागमन ठप्प भएको छ।
सुरक्षित स्थानमा सारियो
बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा घरपरिवार विस्थापित हुन थालेका छन्। बस्तीमा बाढी पस्ने र पहिरो खस्ने जोखिम बढेपछि गुल्मी, पश्चिम नवलपरासी र कञ्चनपुरका १८७ परिवार घर छाडेर सुरक्षित स्थानमा पुगेका छन्।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढीका कारण मात्रै १६३ परिवार प्रभावित भएका छन्। थारुटोलमा बाढी पसेपछि ७८ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको छ। त्यस्तै सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
सुस्तामा बाढीको जोखिम अझै कायम छ। नारायणी नदीको पानीको सतह बढिरहेको स्थानीयले बताएका छन्। निर्माणाधीन तटबन्धको १३२ मिटर भाग निर्माण हुन बाँकी रहेकाले नदी कटानको जोखिमसमेत रहेको स्थानीयको भनाइ छ। बाढीमा फसेका २९ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। उनीहरूलाई पनि सुस्ता–५ स्थित होल्डिङ सेन्टरमा राखिएको छ। उद्धार टोलीले एक गाई र १३ बाख्रासमेत सुरक्षित स्थानमा सारेको छ।
कञ्चनपुरमा पनि नदी आसपासका बस्तीका परिवार घर छाडेर सुरक्षित स्थानमा पुगेका छन्। दोधारा–चाँदनी नगरपालिका–८ जर्का टोलका १० परिवार घर छाडेर जनज्योति माध्यमिक विद्यालयमा आश्रय लिन पुगेका छन्। यसअघि वडा नम्बर ३ पटेराखल्लाका १४ परिवार पनि वडा कार्यालय र जमुना आधारभूत विद्यालयमा सरेका थिए।
यसैबीच गुल्मीमा बाढीभन्दा पहिरोको जोखिमका कारण परिवार विस्थापित भएका छन्। रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरो खस्दा दुई घर जोखिममा परेपछि ती घरका ६ जनालाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। मुसिकोट नगरपालिका–२ झरुवामा पनि पहिरोले एक घरमा क्षति पुर्याएपछि घरमा रहेका मानिस र सरसामान सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
भारी वर्षाका कारण जोखिम बढ्दै गएपछि स्थानीय प्रशासन र सुरक्षाकर्मीले सम्भावित प्रभावित क्षेत्रको निगरानी तथा उद्धारलाई तीव्र बनाएका छन्।