
रौतहट– रौतहटको इशनाथ नगरपालिकामा नन्दकिशोर गुप्ताले दोस्रोपटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेदेखि नै सो नगरपालिका विभिन्न विवादका कारण आलोचित हुन थालेको छ ।
गुप्ताको व्यक्तिगत स्र्वाथका लागि काम गर्ने शैलीका कारण नगरपालिका झनै आलोचित हुन पुगेको हो । निमित्त प्रमुख गुुप्ताको पहिलो कार्यकालसमेत सो पालिकामा विवादितै रहेको थियो । पहिलो कार्यकालमा पनि गुप्ताले कार्यालय प्रयोजनका लागि भनेर एसी, स्कुटर, सोफा, मोबाइल, ल्यापटप, व्यायाम गर्ने महँगो टे«ड बिललगायत जिन्सी सामग्री खरिद गरी व्यक्तिगत रूपमा आफ्नो घरमा प्रयोग गरेका थिए । जुन सामग्री बुझाउन सो पालिकाका नगर प्रमुख सन्तोष मेहताले जिल्ला प्रशासन कार्यालय रौतहटलाई बोधार्थ गरी गुप्तालाई पत्रचार नै गरेका थिए ।
पहिलो कार्यकाल पछाडि पुनः सोही पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका गुप्ता दोस्रोपटक पनि मनोमानी ढंगले कार्यालय सञ्चालन गर्न थालेका छन् । गुप्ताले अहिले आफ्नो निजी स्वार्थ पूरा गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नाम बेच्न थालेका छन् । अख्तियारको एक हाकिमसँग मुद्धाको फाइल मिलाउन सोफा दिएको भन्दै सो सोफाको भुक्तानी कार्यालयबाट गर्न गुप्ताले लेखापाललाई दबाब दिएको फोन अडियो प्राप्त भएको छ ।
बाराको निजगढस्थित एक पसलबाट ७० हजारमा खरिद गरेको सोफा गौरस्थित आफ्नो घरमा प्रयोग गरी सो सोफा आफूले मुद्धा मिलाउन अख्तियारको हाकिमलाई दिएको भन्दै गुप्ताले लेखापाल ठाकुरलाई दबाब दिएको रेकर्डबाट प्रष्ट बुझिन्छ । लेखापाल ठाकुरले जिन्सी दाखिला पछाडि मात्रै आफूले भुक्तानी दिने बताएपछि गुप्ताले जिन्सी दाखिलाका लागि जिन्सी प्रमुख दिपेश रौनियारलाई सो सोफाको दाखिला गर्न दबाब दिएको स्रोतले जनाएको छ । गुप्ताको यहि रबैयाका कारण सो पालिकाका कर्मचारी, जनप्रतिनिधि तथा नगरप्रमुख गुप्ताबाट रुष्ट भई विकल्प सोच्न थालेको बुझिन आएको छ ।