
काठमाडौं– आन्तरिक उडान भरिरहेका जहाजमा पटकपटक प्राविधिक समस्या देखिने गरेको भन्दै त्यसको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । पछिल्लो समय गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा ल्यान्डिङ गियरमा समस्या भएपछि करिब दुई घन्टा आकाशमै ‘होल्ड’ हुनुपरेको थियो । विराटनगरबाट काठमाडौं नै फिर्ता ल्याएर फोर्स ल्यान्डिङको तयारी भइरकेको बेला अकस्मात गियर खुलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो । त्यसपछि हवाइ उडानको सुरक्षाको विषयमा बहस भइरहेको बेला सरकारले मुलुकको हवाइ उडान सेवालाई थप सुदृढ, सुरक्षित र प्रभावकारी बनाउन छानबिन समिति गठन गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र सदस्य सचिवमा प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहेको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ ।
नेपालमा आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीका हवाइजहाज र हेलिकप्टरमा विभिन्न समस्या देखापरेका सन्दर्भमा जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति बनाइएको हो । तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयले जनाएको
छ ।
समितिले नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने सम्पूर्ण जहाजको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन अवलोकन अनुसन्धान गरी सबै वायुयानको सम्परीक्षण गर्नेछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) बाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेका बारेमा प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनकोसमेत पुनरावलोकन गर्ने जिम्मेवारी समितिलाई छ । त्यस्तै वायुयान चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएका बारेमा पनि समितिले परीक्षण गर्नेछ ।
प्राधिकरणले पालना गर्नुपर्ने सुरक्षासम्बन्धी कामको अध्ययन गरी हवाइ सुरक्षाको गुणस्तर बढाउन समितिले सुझाव दिनेछ । नेपालको हवाई सेवालाई भरपर्दो र विश्वसनीय बनाई आम नागरिक र पर्यटकको सुरक्षा सुनिश्चित गर्नुपर्ने दायित्व हुन्छ । नेपालमा सञ्चालित हवाइजहाज र हेलिकप्टरमा विभिन्न समयमा समस्या देखिने गरेको छ ।