
काठमाडौं– चालू आर्थिक वर्षको दुई महिनामा श्रम स्वीकृति लिनेको संख्या गत आर्थिक वर्षको सोही अवधिको भन्दा ५६ हजार ७ सय ९१ ले वृद्धि भएको छ । कोरोनाका कारण गत आर्थिक वर्ष ०७७/८७ को सुरुको दुई महिनामा जम्मा ४ हजार ६ सय ७७ जनाले श्रम स्वीकृति लिएका थिए भने चालू आर्थिक वर्ष ०८७/८९ को सुरुको दुई महिनामा यो संख्या ६१ ह्जार ४ सय ६८ जना पुगेको र यो संख्या गत आर्थिक वर्षको तुलनामा ५६ हजार ७ सय ९१ ले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको हो ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नयाँ र पुराना गरी २५ हजार ४ सय २८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो संख्या गत वर्षको सोही अवधिमा जम्मा ३ हजार १ सय ५२ जना रहेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा ६१ देश जानका लागि श्रम स्वीकृति लिएको देखिन्छ । जबकि गत वर्ष ३० देशका लागि श्रम स्वीकृति लिएको देखिएको छ । चालू आर्थिक वर्षको सुरुदेखि नै निषेधाज्ञा खुलेको र विदेशी मुलुकहरूले पनि श्रमिकहरू लैजाने गरेकाले यो संख्यामा वृद्धि भएको बताइएको छ । चालू आर्थिक वर्षको भदौ महिनामा मात्रै नेपालबाट विदेश जानका लागि श्रम स्वीकृति लिनेको संख्या ३६ हजार ४० जना रहेको छ । जुन चालू आर्थिक वर्षको पहिलो महिनाको भन्दा १० हजार ६ सय १२ जना बढी हो ।
चालू आर्थिक वर्षको सुरुको दुई महिनामा श्रम स्वीकृति लिनेको संख्यामा कतार अगाडि रहेको छ । दुई महिनामा नेपालबाट कतारका लागि मात्रै २६ हजार ५ सय ६१ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । जसमा साउन महिनामा ११ हजार ७ सय ६९ र भदौ महिनामा १४ हजार ७ सय ९२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा कतार जानका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार १६ जना रहेको थियो । त्यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिएर दुई महिनामा धेरै नेपाल गएको राष्ट्रको दोस्रो नम्बरमा साउदी अरब रहेको छ । जहाँ साउनमा ७ हजार ९ सय ७२ र भदौ महिनामा १३ हजार ५ सय ८७ जना गरी कुल २१ हजार ५ सय ५९ जना रोजगारीमा गएको देखिएको छ । यो संख्या गत आर्थिक वर्षमा जम्मा ३ सय ३ जना रहेको तथ्यांकले देखाएको छ । निषेधाज्ञा खुल्ला भएपछि नेपालबाट दैनिक रूपमा सबैभन्दा बढी श्रमिकको गन्तव्य पनि यी दुई देश नै बन्दै गएको देखिएको छ । मलेसिया खुला नभएको अवस्थामा कतार र साउदी जानेको संख्या उल्लेख्य रहेको पाइएको हो ।
चालू आर्थिक वर्षको दुई महिनामा नेपालबाट युएई जानका लागि श्रम स्वीकृति लिनेको संख्या ७ हजार ६ सय ५५ जना रहेको छ । जसमा साउनमा ३ हजार २० र भदौमा ४ हजार ६ सय ३५ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । यो संख्या गत वर्षको सोही समयमा २ हजार २ सय ७७ जना रहेको थियो । जसमा आर्थिक वर्षको पहिलो महिना ८ सय ४२ र दोस्रो महिनामा १ हजार ४ सय ३५ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । गत आर्थिक वर्षमा नेपालबाट सुरुका दुई महिनामा श्रम स्वीकृति लिनेको यो सबैभन्दा धेरै संख्या हो ।
त्यस्तै चालू आर्थिक वर्षको दुई महिनामा नेपालीको प्रमुख श्रम गन्तव्यका रूपमा रहँदै आएको मलेसियाका लागि जम्मा ४१ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । जसमा साउन महिनामा ३५ र भदौ महिनामा ६ जनाले मात्रै श्रम स्वीकृति लिएको तथ्यांकमा देखिएको हो । यो संख्या गत आर्थिक वर्षको यहि समयमा साउनमा ३३ र भदौमा ३ सय ३२ जना गरी ३ सय ६५ जना रहेको थियो । मलेसियाका लागि नयाँ श्रम स्वीकृत लिनेको संख्या नगण्य मात्रामा रहेको र अधिकांश पुनः श्रम स्वीकृति लिनेहरू रहेको देखिएको छ । त्यस्तै चालू आर्थिक वर्षको दुई महिनामा बहराइनका लागि ७ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६ सय ६ ले बढी हो । गत आर्थिक वर्षको सुरुका दुई महिनामा जम्मा १ सय ७ जनाले बहराइनका लागि श्रम स्वीकृति लिएका थिए ।
यसैबीच, चालू आर्थिक वर्षको सुरुको दुई महिनामा कुवेतका लागि ६ सय २६ र ओमानका लागि २ सय ७४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । जुन गत आर्थिक वर्षमा क्रमशः कुवेतमा १ सय ३५ र ओमानमा ९६ जना मात्रै रहेको थियो । विभागले यी राष्ट्रबाहेक चालू आर्थिक वर्षको पहिलो महिना ६१ देशका लागि र दोस्रो महिना भदौमा ७३ देशका लागि श्रम स्वीकृति प्रदान गरेको छ । गत आर्थिक वर्षको पहिलो महिना साउनमा ३० र भदौ महिनामा ४० देशका लागि श्रम स्वीकृति प्रदान गरिएको थियो ।