
काठमाडौं– रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने प्रलोभनमा पारि अवैध रूपमा नेपाल भित्र्याइएको छ । अमेरिका जान खोज्ने रोहिंग्या शरणार्थीलाई तस्करले बंगलादेशबाट नेपाल भित्राउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु बस्ने बंगलादेश घर भएका बंगलादेशी राहदानी नम्बर बिके ०७२५८८१ बाहक ३० वर्षीय आजमत अलि, काठमाडौं कपन राम मन्दिर (शरणार्थी क्याम्प) बस्ने म्यानमार घर भएका रोहिंग्या शरणार्थी २७ वर्षीय सोफिक आलम र सोही क्याम्प बस्ने म्यानमार घर भएका रोहिंग्या शरणार्थी २६ वर्षीय नुर अमिन रहेका छन् ।
अमेरिका जान खोज्ने रोहिंग्या शरणार्थीलाई तस्करले बंगलादेशबाट नेपाल ओसार्दै गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा नुर अमिन र सोफिक आलमले बंगलादेशी नागरिक आजमत अलिसँग मिली रोहिंग्या शरणार्थीहरूलाई नेपाल भित्र्याउने गरेका थिए । सूचनाको आधारमा उनीहरूलाई शनिबार पक्राउ गरी मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा पठाएको थियो । उक्त ब्युरोबाट थप अनुसन्धानको क्रममा बंगलादेशमा शरण लिएका ६ जना रोहिंग्या शरणार्थीलाई नेपालमा पुगेपछि मासिक भत्ता दिइने तथा २०२२ मा युएनएचसिआरले अमेरिका जाने परिचयपत्र दिने प्रलोभनमा पारेका थिए ।
नुर अमिन समेतले रोहिंग्या शरणार्थीहरूबाट २ लाख ५० हजार टाका लिई साउन १८ गते स्थलमार्ग हुँदै भदौ १८ गते बिराटनगर ल्याई भदौ १९ गते काठमाडौंस्थित युएनएचसिआर कार्यालय जाने बाटोसम्म छाडिदिएकामा शरणार्थिको परिचयपत्र दिई युएनएचसिआरले कपनस्थित रोहिंग्या शरणार्थीहरूको जिम्मा लगाएको थियो । उनीहरूको खोजी गरी घटनाका सम्बन्धमा सम्पूर्ण जानकारी लिँदा उनीहरूलाई नेपाल हुँदै अमेरिका लैजाने भनी अवैध रूपमा ओसारपसार गरेको खुल्न आएपछि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिई थप अनुसन्धान भइरहेको उक्त ब्युरोले जनाएको छ ।