
काठमाडौं– तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरूप परिर्वतन गर्नका लागि संबिधान संशोधन गर्नुपर्नेमा जोड दिएको छ ।
परिवार दलनिकट युवाहरूको संगठन पिस फोर्सले बिहीबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा बोल्दै दलका अध्यक्ष एव पूर्वमन्त्री एकनाथ ढकालले जनताले दुई तिहाइ मत दिँदा पनि देशले स्थिर सरकार पाउन नसकेको बताए ।
उनले यसो हुनमा मुलुकको शासकीय स्वरूप रहेको उल्लेख गर्दै यसलाई संविधान संशोधनमार्फत परिर्वतन गर्नुपर्ने बताए । उनले अव देशलाई प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासन र पूर्ण समानुपातिक निर्बाचन प्रणालीको ब्यस्था गर्नु पर्नेमा जोड दिए । नेता ढकालले युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । उनले भने ‘युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ,’ ढकालले भने, ‘युवाहरूले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ ।’
युवायुवतीहरूलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेकोे बताए । ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यकता निर्बिकल्प रहेको बताउँदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दलसंग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताए । ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यी दुइ पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरूले जुजारू र जिम्बेवार नयाँ शक्ति निर्माण गर्नुपर्ने धारणा राखे ।
दलका प्रवता सन्तोषकुमार पौडेलले आजका युवाहरूले नयाँनयाँ परिवर्तन चाहने गरेको बताए । पौडेलले जोश–जाँगरको घडा, अरुका लागि बाँच्न सक्ने, नैतिकवान् र सिर्जनशीलताको अर्को नाम नै ‘युवा’ रहेको बताए । दलका केन्द्रीय सदस्य मनोज कुमार सुर्खेतीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिबर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए ।