
काठमाडौं(प्रस)– चारदिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमारले एमसिसीलाई राजनीतिकरण गरिएकोमा असन्तुष्टि जनाएकी छन् । एउटा देशले अर्को देशलाई दिने आर्थिक सहयोगलाई केही दलले राजनीतिक हतियार बनाएको उनको आशय थियो ।
भ्रमणको अन्तिम दिन आइतबार पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले भनिन्, ‘अहिले एमसिसीलाई राजनीतिकरण गर्ने अनि गलत र भ्रामक प्रचार गर्ने काम भइरहेको छ । आर्थिक सहयोगको विषय कहिले पनि राजनीतिक हतियार हुन सक्दैन किनभने यो मानिसको जीवनसँग सम्बन्धित विषय हो ।’
एमसिसी सम्झौता नेपालको संसदबाट पारित हुनुपर्ने समय घर्किसकेको छ । यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारले एमसिसी सम्झौता संसदबाट अनुमोदन गराउने प्रयास गरेको थियो । तर, उक्त सरकारले संसदमा टेबुल गराएको करिब दुई वर्षसम्म पनि तत्कालीन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रस्तुत नै गरेका थिएनन् । सभामुखको भूमिका विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले पटक–पटक सार्वजनिक रूपमै असन्तुष्टीसमेत जनाइसकेका छन् ।