
हेटौँडा– मकवानपुरको हेटौँडास्थित पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत २५–२५ मिटर सडक विस्तार गर्न कार्य अलपत्र परेको छ । सर्वोच्च अदालतले सडक विस्तारको पक्षमा फैसला गरे पनि संघीय सरकारको बेवास्ताका कारण सडक विस्तार गर्ने काम अलपत्र परेको हेटौँडा उपमहानगरको आरोप छ ।
बुधबार हेटौँडा उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरेर हेटौँडा उपमहानगरका मेयर हरिबहादुर महतले सडक विस्तार नहुँदा बजार कुरूप भएको बताए । हेटौँडा उपमहानगरले आफ्नो क्षेत्रमा सडक विस्तार गर्न तयार भए तापनि संघीय सरकार र सम्बन्धित निकायले अल्झाउँदा काम हुन नसकेको भन्दै आक्रोश व्यक्त गरेको छ ।
मेयर महतले अन्य सहरहरूमा सडक विस्तार भएर निर्माण भइसकेको अवस्थामा पनि वागमती प्रदेशको राजधानी हेटौँडामा सडक विस्तार हुन नसक्नु दुःखद् विषय भएको बताएका छन् । कानुनी रूपमा सडक विस्तारको अधिकार पाए तापनि राजमार्गहरू संघीय सरकारको मातहतमा रहेकाले हेटौँडा उपमहानगरले हस्तक्षेप गर्न नसकेको मेयर महतको भनाइ छ ।
सडक विस्तारबारे पटक–पटक सम्बन्धित कार्यालयहरूमा पत्राचार गरे पनि सुनुवाइ नभएको भन्दै संघीय सरकारले गर्दा हेटौँडाको विकास नै अलपत्र परेको उनको भनाइ छ । कानुनी अवरोध हटिसकेको अवस्थामा सडक विस्तारमा अवरोध गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ ।
नगरवासीले समेत २५ मिटर सडक विस्तारका लागि उपमहानगरलाई घच्घच्याइरहेको भन्दै उनले सडक विस्तारका लागि संघीय सरकारले ध्यान दिनुपर्ने बताए । सडक डिभिजन हेटौँडाले पटक–पटक सूचना निकालेर भत्काउन खोज्दा पनि नसकेको हेटौँडा बजार क्षेत्रमा पर्ने त्रिभुवन राजपथ र महेन्द्र राजमार्गअन्तर्गत २५/२५ मिटर दायाँ–बायाँ भत्काउन उपमहानगरको नगरसभाले समेत पास गरिसकेको अवस्थामा समेत सडक विस्तार हुन सकेको छैन ।
एसिएन हाइवेको रूपमा त्रिभुवन राजपथ र महेन्द्र राजमार्गमा पर्ने हेटौँडा उपमहानगरपालिका अन्तर्गत २ सय ७८ वटा घर भत्किने देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा ६०, २ मा ४८, ३ मा १५, ४ मा ५२, ८ मा ६३ र १० मा ५३ वटा घर पर्ने देखिन्छ । सडक विस्तारमा पर्ने घरधनीहरूले सडक विस्तार गर्न अनुमति दिइसकेको मेयर महतको दाबी छ ।