काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन नगरेको विषयमा प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सरकारमा प्रधानमन्त्री भए नभएको जानकारी पनि माग गरेका हुन् ।
‘यो सरकारको प्रधानमन्त्री छ कि छैन, छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?,’ उनले भने, ‘सांसदको प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ? सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो ।’
उनले प्रश्नको उत्तर दिन नसक्ने प्रधानमन्त्री असक्षम ठहरिने पनि टिप्पणी गरेका हुन् । ‘प्रश्नको जवाफ नदिनु भनेको असक्षमता हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ?,’ उनले उनले भने, ‘जनता सरकारसँग डराएर बाँच्नु परेको छ । जनताको जीउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न सक्ने अनि यो सरकार कसरी सफल सरकार भन्न सकिन्छ ?’
उनले भारतले सीमा क्षेत्रमा निर्माणको काम गरिरहेको विषयमा पनि सरकारलाई प्रश्न गरेका छन् । ‘सीमावर्ती क्षेत्रमा छिमेकी सरकारले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरेको हो वा आपूखुसी गरिरहेको हो ?,’ उनले भने, ‘उदाहरण महाकालीको तटमा पारिपट्टी भइरहेको निर्माणलाई देख्न सक्छौं ।’