काठमाडौं - सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकारले संसदीय व्यवस्थाको उन्नत अभ्यास गरिरहेको दाबी गरेका छन्। प्रतिपक्ष दलहरूले सरकारको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाइरहेका बेला उनले सरकार सुशासन र जनसेवाको मार्गमा दृढताका साथ अघि बढिरहेको जिकिर गरेका हुन्।
उपनेता पराजुलीले निर्वाचनका बेला जनतामाझ गरिएको सुशासनको वाचा सरकारले पूरा गर्न सुरु गरिसकेको बताए। विशेषगरी शिक्षा क्षेत्रलाई राजनीतिक दलका कार्यकर्ता उत्पादन गर्ने थलो बनाउने विगतको प्रवृत्ति अब मान्य नहुने उनको भनाइ छ। सबै क्षेत्रलाई दलीयकरणबाट मुक्त गराई सक्षम नागरिक उत्पादन गर्ने र चुस्त कर्मचारीतन्त्र निर्माण गर्ने सरकारको मुख्य अभियान रहेको उनले उल्लेख गरे।
पराजुलीले भने, ‘उहाँहरुले आफ्नो दलको कार्यकर्ता उत्पादन गर्ने ठाउँ विद्यालयहरुलाई बनाउने प्रयास गर्नु भयो, शिक्षा क्षेत्रलाई पनि त्यसै गर्नुभयो । अब यो जेनेरेशनले राष्ट्र निर्माण गर्ने सक्षम नागरिक उत्पादन गर्न चाहन्छ र यो सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत सबै क्षेत्रबाट दलीयकरण हटाएर सक्षम नागरिक र नागरिकलाई सेवा दिनसक्ने त्यो ब्यूरोक्रेसी बनाउन चाहन्छ । अब दलका कार्यकर्ता बनाउने सपना देखेर सबै ठाउँमा दलीयकरण गर्ने त्यो सपनालाई बिर्सिदिनका लागि म अनुरोध गर्न चाहन्छु र यो पुस्ताले देखेको सपनालाई आत्मसात् गर्न अनुरोध गर्न चाहन्छु ।’
उनले सरकारले आर्थिक रूपान्तरणको सपना बोकेको र सुशासन तथा सेवा प्रवाहका लागि सबै निकायलाई दलीयकरणबाट उन्मुक्ति दिने प्रक्रिया सुरु भइसकेको बताए। पाँच बुँदे करारनामाको पहिलो बुँदामा सुशासन रहेको स्मरण गराउँदै उनले स्थापित व्यवस्थाभित्रै रहेर त्यसको उत्कृष्ट अभ्यासमार्फत जनतालाई परिवर्तनको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गरे। सुशासन र सेवा प्रवाहका कुनै पनि क्षेत्रमा अब राजनीतिक हस्तक्षेप हुन नदिने पराजुलीको भनाइ छ।