

काठमाडौं– काठमाडौं महानगरपालिकाले लामो समयदेखि घरजग्गा तथा सम्पत्ति कर नतिर्ने ठूला करदाताको घर तथा कार्यालयमा ‘पन्चेबाजा’ अभियान सुरु गरेको छ । यसअघि कर नतिर्ने ठूला करदाताको विवरण सार्वजनिक गरिसकेको महानगरले बुधबारदेखि ति करदाताको घर, कार्यालय तथा टोलमा पन्चेबाजा बजाउँदै कर तिर्न सूचित गर्ने अभियान सुरु गरेको हो ।
ति ठूला करदाताले विगत २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर तिरेका छैनन् । महानगर ठूला करदाताबाट कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा पुगेको छ । बक्यौता रकम असुल गर्न महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्धित करदाता महानगरपालिकाको सम्पर्कमा नआएपछि यस किसिमको अभ्यास थालेको हो ।
महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुगेको छ । करदातालाई कर बुझाउन रचनात्मक दबाब दिँदै विभागले बुधबार दरबारमार्ग, न्यूरोड र नयाँ बजारका करदाताको घर–आँगनमा पञ्चेबाजासहित नाचगान गरेका छन् । महानगरपालिकाको समन्वयमा बालाजुको एक महिला समूहले कर शिक्षा सम्बन्धी गीत तयार पारेका छन् । उनीहरूले अभियानअन्तर्गत करदाताको टोलमा पुगेर पन्चेबाजा बजाउँदै गीत गाइरहेका छन् । त्यसपछि महागरपालिकाको टोलीले कर नतिरेको विवरणसहित माइकिङ गरिरहेको छ ।
यसअघि महानगरले गत १६ असार र साउनको अन्तिमसाता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गरी विवरण पेस गर्न निर्देशन दिएको थियो । महानगरपालिकाले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटकपटक जानकारी गर्दा पनि धेरैले अटेर गर्दै आएका छन् । दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले बेवास्ता गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेस नगरेकाले महानगरले ताकेता गर्नुपरेको राजस्व महाशाखा प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिएका छन् । ‘अटेर गर्नेलाई कानुनी कारबाही चलाउनुबाहेक विकल्प छैन, अनुरोध र सूचनाको अटेर गर्नेको यही २४ भदौदेखि सिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गरी महानगरबाट दिइने सबै सेवा बन्द गर्ने हो’, उनले भने ।