

काठमाडौं– ०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त पशुपति क्षेत्रको सम्पदाको पुनर्निर्माणले अपेक्षाकृत गति लिन सकिरहेको छैन । हिन्दू धर्मावलम्वीहरूको आराध्यदेव पशुपति क्षेत्रको सम्पदा समयमै सम्पन्न गर्ने लक्ष्य लिइए पनि अपेक्षाकृत सफलता हात लाग्न नसकेको गुनासो आइरहेको छ । १२ वैशाख ०७२ को विनाशकारी भूकम्पले पशुपति क्षेत्रको १०५ सम्पदामा क्षति पु¥याएको थियो । भूकम्प गएको ६ वर्ष बितिसक्दा हालसम्म क्षतिग्रस्त सम्पदामध्ये ५८ वटाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार अहिलेसम्म आधा मात्र सम्पदाको पुनर्निर्माण सकिएको हो । कोषका सदस्य सचिव डा.घनश्याम खतिवडाका अनुसार २१ सम्पदाको हाल पुनर्निर्माण भइरहेको छ । त्यस्तै २३ सम्पदाको अहिलेसम्म पुनर्निर्माण सुरु हुन नसकेको उनले बताएका छन् । सोमबार राष्ट्रियसभामा सांसदहरूले पशुपति क्षेत्रको अवलोकन गर्ने क्रममा उनले सो जानकारी गराएका थिए । उनले पशुपति क्षेत्रको वृहत्तर विकासका लागि गुरुयोजना बनिरहेको पनि जानकारी दिएका छन् । उनका अनुसार वनकाली क्षेत्रमा पार्किङ निर्माणका लागि काम भइरहेको छ । पशुपति क्षेत्रको वाग्मतीमा सधैँ स्वच्छ पानी बगाउन गुह्येश्वरी क्षेत्रमा पोखरी निर्माण गर्न लागिएको जानकारी कोषले गराएको छ ।
राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिअन्तर्गत गठित उपसमितिले सोमबार विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । उपसमिति संयोजक सांसद अनिता देवकोटाको नेतृत्वमा गएको सांसदहरूको समूहले पशुपति क्षेत्रको अवलोकन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएको हो । उपसमितिले पशुपति क्षेत्रमा भइरहेको भौतिक संरचना निर्माण, पार्किङ व्यवस्थापन, तिलगंगाको बस्ती स्थानान्तरण, पूजा एवं सांस्कृतिक परम्परा, घाट क्षेत्र व्यवस्थापनलगायतका विषयमा जानकारी लिएको थियो ।
अवलोकनमा सांसदहरू कोमल वली, उदया शर्मा पौडेल, खिमलाल भट्टराई, इन्दिरादेवी गौतम सहभागी भएका थिए । अवलोकनपछि आयोजित अन्तक्र्रिया कार्यक्रममा सांसदहरूले पशुपति क्षेत्रलाई विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बीको गन्तव्यस्थल बनाउने संरचना निर्माणका लागि आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस अवसरमा कोषका सदस्य सचिव डा. खतिवडाले तिलगंगाा क्षेत्रको बस्ती स्थानान्तरणका लागि मुआब्जा दिइसके पनि गोठाटारमा दिने भनिएको जग्गा व्यवस्थापन नहुँदा ढिलाइ भएको सांसदहरूलाई जानकारी गराएका थिए । गोठाटारको जग्गामा बालुवा रहेकाले त्यसको व्यवस्थापन नगरी बस्ती स्थानान्तरण गर्न नसकिने कोषले जनाएको छ । बालुवा व्यवस्थापनका लागि बोलपत्र आह्वान गर्दा मुद्दा पर्ने गरेकाले काममा ढिलाइ भइरहेको उनले बताए ।
पशुपति क्षेत्रमा फूलमाला व्यवस्थित गर्ने काम पनि चुनौतीपूर्ण बन्दै आएको छ । यसमा पनि काम गरिरहेको कोषको भनाइ छ । पशुपति क्षेत्रको स्थलगत अवलोकनपछि प्रतिवेदन तयार पारी समितिसमक्ष पेस गरिने सांसद भट्टराईले सुनाए । प्रतिवेदनमाथि समितिमा छलफल गरी पशुपति क्षेत्रको वृहत्तर विकासका लागि सरकारलाई निर्देशन दिने तयारीसमेत गरिएको उनले जानकारी दिए ।