

काठमाडौं – नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।
भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामना पत्र प्रदान गरेका थिए । नेपाली काग्रेसका सभापति समेत रहेका देउवालाई विभागका सचिव भण्डारीले विभागले गरेको कामको बारेमा समेत जानकारी गराएका थिए ।
विभागले भावी योजना र कार्यक्रमको बारेमा समेत जानकारी गराइएको सचिव भण्डारीले बताए । प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए । उनले भने, ‘बैक खोल्न हालसम्म गरेको काम र प्रकृयाको विषयमा जानकारी गराएका थियौँ ।’ उनका अनुसार प्रम देउवाले देशभरका सहकारी क्षेत्रको प्रतिनिधित्व हुने गरी सहकारी बंैक खोल्नु आवश्यक रहेको आशय व्यक्त गरेका थिए ।
‘नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रकृया अघि बढाउन सम्बन्धीत निकायसँग परामर्श लिने धारणा प्रधानमन्त्रीले राखेका थिए,’ –शुभकामना आदानप्रदान गर्ने क्रममा प्रम देउवाले राख्नुभएको धारणाबारे जानकारी दिँदै सचिव भण्डारीले भने, ‘सहकारी बैक खोल्ने विषयमा विभागले थप प्रकृया थाल्नेछ ।’
विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।
विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जन सहितको कार्यसमितिका पदाधिकारीले भेट गरेका थिए । नेपाल सहकारी बैंक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्र बंैक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ बंैक सञ्चालनमा आउनेछ । बंैक सञ्चालन गर्न राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ ।