

काठमाडौं – साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार करिब ७५ अंकले बढेको नेप्से, यस दिन घटेको हो । बजार खुलेको करिब डेढ घण्टासम्म उकालो लागिरहेको नेप्से, सोपछिको समयमा घट्न थालेको हो ।
यस दिन सर्वोच्च अदालतको फैसलापछि नेप्सेमा तिव्र उतारचढाव देखिएको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई बदर गरी संसद पुनःस्थापना गर्ने आदेश दिएसँगै यस दिन बजार ओरालो लागेको थियो । तर, २८ घण्टाभित्र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश जारी गरेको समाचारले बजारमा तिव्र उतारचढाव देखिएको थियो ।
नेप्से ओरालो लागेपनि यस दिन २८५० भन्दा तल जान सकेको छैन । यस दिन नेप्सेले सो टेवा विन्दुलाई बारम्बार परीक्षण गरेको प्राविधिक विश्लेषकहरू बताउँछन् । सोमबार नेप्से परिसूचक ४५.१२ अंक घटेर २८५४.७० विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ८.६५ अंक घटेको छ । त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ३.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८४ अंक घटेको हो ।
सूचक ओरालो लागेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार बजारमा २२९ कम्पनीको ९२ हजार १९२ पटकको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रूपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ ।
जसमध्ये होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन ०.१६ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन निर्धन उत्थान शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको यस दिन ४७ करोड २६ लाख रूपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन एनआईसी एशियाको करिब ३५ करोडको शेयर कारोबार भएको छ । यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ५.२४ प्रतिशत बढेको छ भने यूनियन हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।