

काठमाडौं– भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बजेट सर्वसम्मतबाट पारित भएको छ । नगरपालिकाको शनिबार सम्पन्न नगरसभाले आर्थिक वर्ष ०७८÷०७९ का लागि विनियोजन गरेको रु. ३ अर्ब ३८ करोड ४९ लाख ३५ हजार रूपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको हो । अघिल्ला वर्षहरूमा विवादका कारण बजेट पारित गर्न सकस हुने गरेको भए पनि नयाँ आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।
नगरसभाले नयाँ आर्थिक वर्षका लागि चालु तथा पूजीँगततर्फ रु. १ अर्ब ९२ करोड ३४ लाख ४८ हजार, कमेरोटार जग्गा एकीकरण आयोजनातर्फ ८० करोड २१ लाख ११ हजार र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका लागि ६५ करोड ९३ लाख ७६ हजार रूपैयाँको बजेट विनियोजन गरिएको छ । त्यस्तै, नगरपालिकाले रु. १ अर्ब ९२ करोड ३४ लाख ४८ हजार मध्ये चालुतर्फ २७ करोड ९१ लाख २२ हजार, वडागत योजना तथा कार्यक्रमको लागि २७ करोड ९ लाख, नगरस्तरीय योजना निर्माणका लागि ६५ करोड ५० लाख २ हजार रूपैयाँ बजेट विनियोजन गरेको मेयर श्रष्ठले बताए । त्यस्तै नगरपालिकाले पूर्वदायिŒव सिर्जना भएका क्रमागत आयोजनाका लागि रु.१४ करोड ४५ लाख बजेट विनियोजन गरेको छ ।
संघीय हस्तान्तरित कार्यक्रमतर्फ २१ करोड ९० लाख, प्रदेश ससर्त अनुदानतर्फ २ करोड ५४ लाख ९० हजार र प्रदेश समपूरक अनुदानतर्फ २ करोड २० लाख ३४ हजार, जिसस सडक बोर्ड समपूरक र म्याचिङ अनुदानतर्फ लागि रु.१५ करोड ७४ लाख विनियोजन गरेको थियो । नगरपालिकाले कोरोना महामारीको समयमा स्वास्थ्यलाई बढी प्राथमिकता दिएर बजेट ल्याएको मेयर श्रेष्ठको भनाइ छ ।
नगरसभाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल सञ्चालन तथा व्यस्थापन ऐन, ०७७ लाई संसोधन गरी सञ्चालक समिति १५ जनाको बनाएर पूर्णता दिइने, यस अस्पतालका लागि वडा नम्बर २ र ३ मा स्वास्थ्य चौकी सञ्चालनमा ल्याउने, एमआरआई, क्याथ ल्याब, सिटी स्क्यान र ब्लड बैंक सञ्चालनका लागि रु.१९ करोडको बजेट पारित गरेको छ । त्यस्तै, उक्त अस्पतालको पूर्वाधार विकासका लागि रु. १ करोड, कोभिड व्यवस्थापनलाई रु. १ करोड, जातिगालको सहरी स्वास्थ्य क्लिनिक भवन निर्माणका लागि रु.६० लाखको बजेट विनियोजन गरेको छ ।
नगरसभाले आन्तरिक आयतर्फ (मौज्दात रकम समेत) रु. ८३ करोड ७१ लाख ८० हजार, राजस्व बाँडफाँड संघीय र प्रदेशबाट ४० करोड ८१ लाख ५७ हजार रूपैयाँ आयको स्रोतका रूपमा रहेको छ । त्यस्तै संघीय सरकारको समानिकरण अनुदानबाट २२ करोड ७७ लाख, समानिकरण प्रदेश सरकारबाट २ करोड ३ लाख ८७ हजार, ससर्त अनुदानतर्फ २१ करोड ९० लाख, स्थानीय तह बिशेष अनुदान १ करोड, नगद जनसहभागिता ३५ लाख, सामाजिक सुरक्षावापत १५ करोड, ससर्त अनुदान चालुतर्फको प्रदेश सरकार २ करोड ५४ लाख ९० हजार र अनुदान २ करोड २० लाख ३४ हजार रूपैयाँ रहेको छ ।
त्यस्तै शिक्षातर्फ महेन्द्र आधारभूत विद्यालय, जनआदर्श क्याम्पस र जनप्रेमी आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माणलाई रू.६५ लाख, बाल विकास शिक्षक एवं कार्यलय सहयोगीको तलबमा संघीय सरकारबाट प्राप्त पारिश्रमिकलाई सोही मात्रामा वृद्धी गरी प्रदान गर्ने, पूर्वाधार विकास ४० लाखको बजेट विनियोजन गरेको मेयर श्रेष्ठले जानकारी दिएका छन् ।