

काठमाडौं–नेपाल पत्रकार महासंघले सञ्चारगृको स्वनियमन, स्थायित्व र व्यावसायिक सुरक्षा सम्बन्धमा सरोकारवालासंग अन्तरक्रिया आयोजना गरेको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चारगृह र श्रमजीवी पत्रकार तथा कर्मचारीहरूको सम्बन्ध न्यायोचित हुनुपर्ने धारणा राखे । उनले जिम्मेवार सञ्चार क्षेत्रको अवधारणा अनुसार सञ्चारको विकासमा जोड दिन आग्रह गरे ।
महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड–१९ बाट पत्रकार तथा सञ्चार क्षेत्र दुबै संकटमा रहेको भन्दै नियमित छलफलबाट समस्याको समाधान गर्न सकिने बताए । उनले सञ्चार क्षेत्रको समग्र विकासका लागि समस्या पहिचान गरी सरकारलाई ध्यानाकर्षण गर्नुपर्ने धारणा राखे ।
महासंघका महासचिव रोसन पुरीले कोभिड–१९ बाट श्रीमजीवी पत्रकार र सञ्चागृह एकैसाथ समस्यामा रहेको भन्दै त्यसको समाधानका लागि कार्यक्रमको आयोजना गरिएको बताए । श्रम समस्या समाधान गर्दा सञ्चार संस्थानै बलियो हुने भएकाले महासचिव पुरीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिए ।
सामुदायीक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले सञ्चारगृह रहे मात्र पत्रकार तथा कामदार रहने भन्दै सबैभन्दा पहिला सञ्चारमाध्यम बलियो हुनुपर्ने धारणा राखे । उनले रेडियोको नविकरण लगायत नीतिगत विषयमा सहजिकरणको आवश्यक रहेको बताए ।
ब्रोडकास्टिङ एसोसियशन नेपाल (वान) का कार्यवाहक अध्यक्ष कुमार भट्टराईले सामुदायिक रेडियोमा धेरै नै नीतिगत समस्या रहेको बताए । उनले संघीय संरचनामा रेडियो नवीकरण तथा अन्य कामका लागि अझै काठमाडौं आउनुपर्ने बाध्यता रहेको बताए । काठमाडौं उपत्यका प्रसारक संघका अध्यक्ष आर.के श्रेष्ठले रेडियोको व्यवस्थापन गर्न सरकार उदासिन रहेको बताए । उनले रिडियोको वर्गीकरण गरी व्यवस्थापन गरे सञ्चालक एवं कर्मचारी दुबैलाई हित हुने बताए ।
त्यस्तै सामुदायिक रेडियो प्रशारक संघका महासचिव किशोरजंग थापाले सरकारले रेडियोहरूलाई सधै उपेक्षा गरेको बताए । उनले सरकारले साना लगानीका मिडियाको उत्थानका लागि कुनै पनि योजना नल्याएको साथै, कोभिड–१९ ले गर्दा सञ्चारगृहको आम्दानी घट्दा आन्तरिक व्यवस्थापनमा समस्या रहेको बताए ।