काठमाडौं- मनाङको हिमलुङ हिमपहिरोमा परी सम्पर्कविहीन भएकामध्ये थप दुई जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार मनाङ नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ बेसक्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये सोमबार थप दुई जनाको शव फेला परेको हो।
यससँगै उक्त बेसक्याम्पमा भेटिएका शवको संख्या चार पुगेको छ। यसअघि आइतबार दुई जनाको शव फेला पारी हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। आइतबार भेटिएका दुई जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे मनाङमा ल्याइएकोमा सोमबार बिहान हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएका ती शवको पहिचानसमेत खुलेको छ।
प्रहरीका अनुसार ती शव संखुवासभाको भोटखोला गाउँपालिका-३ का करिब ५२ वर्षीय छेबी भोटे र भोटखोला गाउँपालिका-२ का करिब ३१ वर्षीय पासाङ भोटेको रहेको खुलेको छ।
सोमबार भेटिएका दुई जनाको शव हेलिकप्टरमार्फत हिमलुङ बेस क्याम्पबाट उद्धार गरी प्रदेश अस्पताल चामे, मनाङमा ल्याएर राखिएको प्रहरीले जनाएको छ। उक्त शव वीरेन्द्र गुरुङ र घनश्याम राईको रहेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले जानकारी दिएको छ।
भदौ ३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिमलुङ बेसक्याम्प स्थापना गर्न गएका २२ जना नेपाली नागरिकमध्ये १२ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। १० जना भने आइतबार साँझ ५:३० बजे सकुशल फु-गाउँमा आएर बसेका थिए।
हिमलुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फ पर्ने स्थानमा रहेको छ। बाँकी सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।