

काठमाडौं– काठमाडौं उपत्यकाका सडकमा परेको खाल्डाखुल्डी कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । मेलम्ची खानेपानी आयोजनाले पाइप विस्तार तथा मर्मतका लागि सडक खन्ने क्रममा परेको खाल्डाखुल्डीका कारण सडकमा जोखिम बढेको हो । खानेपानी आयोजनाले खनेको सडक समयमा नपुर्दा समस्या भएको यात्रुहरूले गुनासो गरेका छन् ।
केही महिनायता काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको पाइप मर्मतका लागि खनिएका खाल्डाका कारण दैनिक यात्रु र चालकले कठिनाइ भोगिरहेका छन् । कतिपय स्थानमा तत्काल खाल्डो पुरिए पनि कतिपय स्थानमा केही दिनसम्म नपुरिएको पाइएको छ । खाडल पुरिएको स्थानमा पनि त्यहाँ भएका ढुंगा र गिटीका कारण हिँड्न गाह्रो भएका चालक र यात्रु बताउँछन् । सडकमा भएको खाल्डो कारण दुर्घटना बढ्न सक्ने ट्राफिक प्रहरीको अनुमान छ । यस अघिसम्म निषेधाज्ञाका कारण सवारी चाप कम रहे पनि अब सवारीको चाप बढ्ने भएकाले दुर्घटनाको संख्या बढ्ने प्रहरीको अनुमान छ ।
मेलम्ची खानेपानी आयोजनाको पानी आएसँगै काठमाडौं उपत्यकाका खानेपानी पाइपमा देखिएको चुहावट मर्मत गर्न थालिएको थियो । त्यसरी चुहावट भएका करिब तीन हजार स्थानमा खाल्डा बनाइएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । मुख्य र सहायक सडकमा निषेधाज्ञाको समयमा पाइप मर्मतको काम भएको थियो । अहिले वर्षा सुरु भएपछि पनि सडकमा पाइप मर्मतको काम रोकिएको छैन ।
सडकमा वर्षाको समयमा मर्मत गर्न नसकिने भन्दै अहिले तत्काल खन्न रोक्न डिभिजन सडक कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई भनिसकेको डिभिजन प्रमुख कुबेर नेपालीले जानकारी दिएका छन् । उनका अनुसार तर अझैं पनि सडक खन्न कम भएको छैन । उनले भने, ‘केयुकेएल आफैँले खनेको हो कि उहाँहरूको नाममा अरुले सडक खनेको छ भन्ने बुझ्न सकिएको छैन ।’
सडक खन्ने काममा लिमिटेडले डिभिजनसँग आवश्यक समन्वय नगरेको प्रमुख नेपालीको गुनासो छ । उनका अनुसार कतिपय स्थानमा हेर्दा आवश्यकताभन्दा बढी र चाहिनेभन्दा ठूलो खाल्डा खनिएको पाइएको छ । डिभिजनले वर्षा भइरहेकाले तत्काल कालोपत्र सडकमा मर्मत गर्न नसक्ने हुँदा हाललाई नखन्न अनुरोध गरिएको उनको भनाइ छ ।
उनका अनुसार सडक तुरुन्त मर्मत गर्न मौसमको चुनौती रहेको छ । वर्षाको समयमा कालोपत्र गर्न सकिँदैन । थप सडकमा खन्न रोक लगाएर अहिलेसम्म भएका खाडल सकेसम्म चाँडो पुरिसक्ने डिभिजनको तयारी छ । उनले भने, ‘एक साता घाम लाग्दा अहिले खाल्डा देखिएको ठाउँमा काम गर्न सकिनेछ ।’
काठमाडौं उपत्यकामा मेलम्चीको पानी आएसँगै खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच पाइपमा चुहावट देखिएर खन्नु परेमा तत्काल मर्मत गर्न सहमति भएको थियो । यी दुई मन्त्रालयबीच भएको सहमतिमा लिमिटेडले सामान्य रूपमा खाडल पुर्ने र विज्ञ कर्मचारी भएकाले सडक विभागले कालोपत्र गर्ने उल्लेख थियो । मेलम्चीको पाइप मर्मतका लागि सरकारले रु १० करोड छुट्याएको थियो ।