काठमाडौं- नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मंसिर १७ देखि २१ गतेसम्म राजधानीमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ।
नेपाल सरकारको सहयोग र निजी क्षेत्रको आयोजनामा हुने सो मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानका व्यवसायीको सहभागिता रहने छ।
नेपाल व्यापार एकीकरण रणनीतिमा विशेषरुपमा पहिचान गरिएका अलैँची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला, पश्मिनालगायत वस्तुको निर्यात वृद्धि गर्न सघाउ पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको हो।
कुल २०० भन्दा बढी कक्षमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया र जापानलगायत देशका क्रेताहरुलाई आमन्त्रण गरिसकिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।
मेलाको मुख्य आकर्षणमा नेपालमा निर्मित हस्तकलाका उत्पादन, वस्तुगत संघका उत्पादन तथा विद्युतीय सवारीसाधनको छुट्टै पेभिलियन रहने छ। द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल हुने मेला करिब एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ।
मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुग्ने महासंघको विश्वास छ।