बुटवल- हिन्दूहरुको महान् पर्व बडादसैं भित्रिएसँगै बुटवलस्थित बसपार्कसहित विभिन्न ठाउँमा यात्रुको चाप बढेको छ।
वर्ष दिनमा आउने हिन्दूको ठूलो चाड दसैं मनाउन काठमाडौंलगायत देशका विभिन्न ठाउँ तथा विदेशमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेसँगै बसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो।
बुटवल पश्चिम क्षेत्रको मुख्य औद्योगिक एवं व्यापारिक केन्द्र भएकोले यहाँबाट दसैंको टीका लगाउन पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घखाँची, स्याङ्जा, बागलुङ, प्युठानलगायत ठाउँमा जानेहरूको भीडभाड र चहलपहल देखिन्छ।
भारतका विभिन्न ठाउँबाट टीका थाप्न घर पर्किनेहरूको लर्को पनि उस्तै छ। यो पटक पहाडतिर बसहरूभन्दा पनि हल्का सवारीसाधनहरूले यात्रुलाई गनतव्यतिर पुर्याउन सेवा दिएका छन्।
कतिपय हल्का सवारीसाधन इभी पनि यात्रुको रोजाइमा परेको देखिन्छ। बुटवलवाट पश्चिम बस, सिद्वार्थ यातायात, बुटवल यातायात लगायत विभिन्न बस समितिका मात्र दैनिक लामो तथा छोटो दूरीका लागि बस र हल्का सवारीसाधन गरी एक हजारभन्दा बढी सवारीसाधन विभिन्न रूटका लागि सञ्चालनमा छन्।
