म्याग्दी- कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ।
विपद्का समयमा आकस्मिकरुपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण गरिएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र ६ धिरच्याङमा प्रसारणलाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट विद्युत् गत असोज ११ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन।
नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेश ग्रिड शाखा पोखराका प्रमुख रोशन खड्काले बाढीले ढलाएका तीन वटा टावरको विकल्पमा एक वटा अस्थायी टावर बनाई तार तान्ने काम सकिएपछि शनिबार राति साढे १० बजे लाइन चार्ज गरिएको जानकारी दिए। “नेपाल विद्युत प्राधिकरण र कालीगण्डकी बेसिनमा रहेका जलविद्युत आयोजनाका प्राविधिक जनशक्ति परिचालन गरेर बाढीले क्षति पुर्याएको २० दिनमै मर्मत गरेर विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न सफल भएका हौ,” उनले भने, “यस क्षेत्रका सबै आयोजनाले उत्पादन गरेको विद्युत खपत हुने वातावरण बनेको छ।”
प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले क्षतिग्रस्त भएका तीनवटा टावरको विकल्पमा क्यानाडा प्रविधिको एकवटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गरिएको बताए। बेनी–जोमसोम सडकको भिरकाटे खण्ड देखि पारी रहेको अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलामा अस्थायी टावर निर्माण भएको छ।
कालीगण्डकी बेसिनमा रहेका जलविद्युत आयोजनाहरु र महाशाखाका गरी २० जनाभन्दा बढी इन्जिनियर, त्यति नै संख्यामा प्राविधिक र ५० जना भन्दा बढी मजदुरहरु पछिल्लो १५ दिनयता परिचालन भएका थिए। अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्ने र क्षतिग्रस्त टावरको पुनर्निर्माणको प्रक्रिया पनि सँगसँगै अगाडि बढाउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्रसारणलाइनको टावरमा क्षति पुगेपछि दाना–खुर्कोट प्रसारणलाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२, ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना र मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको थियो।