विराटनगर- विराटनगरका विद्यार्थी राहुलकुमार साहु हलुवाईले अन्तर्राष्ट्रियस्तरको व्यावसायिक लेखा परीक्षा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसिसिए) अन्तर्गत फाइनान्सियल एकाउन्टिङ विषयमा सतप्रतिशत अंक प्राप्त गर्दै विश्व कीर्तिमान कायम गरेका छन्।
विश्वका १५० भन्दा बढी देशमा अध्ययन तथा अध्यापन हुने एसिसिएको परीक्षामा १०० पूर्णांकमध्ये १०० नै अंक ल्याएर राहुलले नेपाली विद्यार्थीको क्षमता अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गरेका हुन्।
राहुलले हासिल गरेको यो उपलब्धिको सम्मानमा विराटनगरस्थित सोएम्स कलेजले मंगलबार स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। कलेजका अध्यक्ष आरसी कोइरालाले राहुलको सफलताप्रति खुसी व्यक्त गर्दै उनलाई बधाइ दिएका थिए।
कलेजका प्रिन्सिपल रोशन घिमिरेले राहुलको सफलताले विराटनगरको शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको बताए। उनले भने, “राहुलको यो उपलब्धि हाम्रो कलेजका लागिमात्र नभई विराटनगरकै लागि गौरवको विषय हो। उनको सफलता मेहनत र लगनशीलताका साथ अध्ययन गर्ने विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा पनि उत्कृष्ट नतिजा हासिल गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ।”
राहुलको उपलब्धिले नेपाली विद्यार्थीमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको देखाएको उनले बताए। “राहुलले हासिल गरेको सफलता नेपाली विद्यार्थीका लागि प्रेरणादायी छ। यस्ता प्रतिभालाई प्रोत्साहन गर्दै गुणस्तरीय र व्यावसायिक शिक्षामा जोड दिनु आजको आवश्यकता हो,” प्रिन्सिपल घिमिरेले भने।
राहुलले बिराटनगर स्थित सोएम्स कलेजमा एसिसिए अध्ययन गरेका हुन्। उनले विगत केही वर्षदेखि काठमाडौं बाहिर रहेर पनि आफ्नो अध्ययन र परीक्षाको तयारीलाई निरन्तरता दिँदै आएका थिए।
नियमित अध्ययन, अनुशासन र विषयप्रतिको गहिरो लगावले आफूलाई यो सफलता प्राप्त भएको उनले बताए।