सुर्खेत - जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सान्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।
दुर्घटनामा दिलबहादुर भण्डारी र उनका चार वर्षीय छोरा शिशिर भण्डारी घाइते भएका छन् । त्यस्तै, जुनीचाँदे गाउँपालिकाकी ५० वर्षीया सितला टमटाको टाउको र ढाडमा चोट लागेको छ ।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।