काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका गम्भीर प्रश्नबारे आन्तरिक छानबिन सुरु गरेको छ।
मंगलबार जारी विज्ञप्तिमार्फत रास्वपाले पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जनाएको हो ।
छानबिनको निष्कर्ष नआएसम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले उनलाई निर्देशन दिएको छ।
‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नाका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ,’ विज्ञप्तिमा भनिएको छ।
सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा सुनारसँग सम्बन्धित विषयमा उठेका प्रश्नप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ।
पार्टीले महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई गम्भीर र संवेदनशील रूपमा लिएको स्पष्ट पारेको छ।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि उठ्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसक्ने जनाएको छ।
रास्वपाले सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा दृढ रहेको उल्लेख गर्दै पार्टीले राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ।
कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धतासमेत रास्वपाले व्यक्त गरेको छ।