काठमाडौं– नेकपा एमालेले संसद् पुनस्र्थापनाको मुद्दा लिएर सडक संघर्ष गर्ने तयारी गरेको छ । यसको नेतृत्व अध्यक्ष केपी शर्मालाई नै दिने एमालेको तयारी छ ।
सोमबार केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरुको शपथ कार्यक्रममा ओलीले यसको छनक दिएका हुन् । लोकतन्त्र मासिएको अवस्थामा यसलाई पुनस्र्थापना गर्नुपर्ने ओलीले बताए ।
‘अहिले नेपालमा लोकतन्त्र मासिएको छ, खुँडा चलाइएको छ । राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको छ । यस्तो स्थितिमा हामीले यी चिजहरूको पुनः प्राप्ति गर्नु अनिवार्य सर्त हो,’ अध्यक्ष ओलीले भने । अघिल्लो भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए । त्यतिबेला ओलीकै नेतृत्वमा कांग्रेससँगको गठबन्धन सरकार थियो ।
प्रतिनिधिसभा विघटन भएसँगै सुशीला कार्की नेतृत्वको चुनावी सरकार बनेको थियो । उक्त सरकारले फागुन २१ गते निर्वाचन गरेसँगै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेको छ । सरकारले बलजफ्ती गरेको र यसलाई अस्वीकार गर्नुपर्ने ओलीले बताए । ‘बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसैलाई आन्दोलन भनिन्छ । विगतमा पनि हामीले यो गरेका छौं, फेरि पनि गर्नुपर्ने हुन्छ,’ ओलीले भने ।
पछिल्लो समय नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासमेत संसद् पुनस्र्थापनाको पक्षमा देखिएको एमाले नेताहरु बताउँछन् । देउवाले यो विषयमा राष्ट्रपति पौडेलसँग निरन्तर संवाद गरिरहेको उनीहरु बताउँछन् । ‘राष्ट्रपतिले असंवैधानिक कदम चालेका हुन् । यसलाई हामीले सच्याउनुपर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले बताए ।
एमाले अध्यक्ष ओलीले आन्दोलनको अर्थ लुटपाट वा आगजनी नभई असंगठित र निःशस्त्र जनतामाथि संगठित शक्तिले गर्ने दमनको प्रतिवाद भएको बताए । सम्बोधनका क्रममा ओलीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी र षड्यन्त्र अझै जारी रहेको दाबी गरे । २०७७ सालदेखि नै पार्टी कब्जा गरेर ध्वस्त पार्ने योजना सुरु भएको स्मरण गर्दै उनले २०७८ मा पार्टी फुटाउने र २०७९ को निर्वाचनमा सिंगै देश एकातिर लागेर एमालेविरुद्ध मोर्चाबन्दी गरिएको बताए । ‘हामीविरुद्धको घेराबन्दी अझै सिद्धिएको छैन, यो एकदमै चालु छ । सामाजिक सञ्जालमार्फत हाम्रो चरित्र हत्या गर्ने र जनताको नजरमा गिराउने काम भइरहेको छ,’ ओलीले भने ।
गत निर्वाचनमा विरोधीका सबै षड्यन्त्रलाई चिर्न नसक्दा पार्टी केही पछाडि परेको स्वीकार गर्दै उनले अब त्यस्ता षड्यन्त्रलाई टिक्नै नदिनेगरी अघि बढ्न नेता–कार्यकर्तालाई निर्देशन दिए । समाजवादी आन्दोलनलाई सिध्याउँछौं भनेर लाग्नेहरू ‘मूर्ख’ भएको टिप्पणी गर्दै ओलीले कम्युनिस्ट आन्दोलन भनेकै सत्य, न्याय र मानवतावादको आन्दोलन भएको दाबी गरे ।
एमालेले असोज ५–८ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले तत्काल पूरा गर्न १५ प्रमुख कामलाई अघि सारेको थियो । यसको पहिलो प्राथमिकतामासमेत ‘संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा’ राखिएको छ । ‘प्रतिनिधिसभाको असंवैधानिक विघटनविरुद्ध र विघटित प्रतिनिधिसभाको पुनस्र्थापनाको माग गर्दै हामीले सर्वोच्च अदालतमा दिएको मुद्दा अहिले पनि विचाराधीन अवस्थामा नै छ,’ एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘लोकतन्त्र र संविधानले हार्नु हुँदैन । लोकतन्त्रको वापसीका लागि हामीले आफूलाई निर्णायक आन्दोलनका लागि तयारी अवस्थामा राख्नुपर्दछ ।’
यसका लागि अरू शक्ति समूहसँगसमेत मिल्नुपर्ने प्रतिवेदनमा भनिएको छ । ‘यस महान् र पवित्र राष्ट्रिय उद्देश्यमा मिल्ने÷मिल्न सकिने सबै शक्ति समूह र व्यक्तिहरूसँग सहकार्य गर्दै आन्दोलनमा अघि बढ्नुपर्दछ । हाम्रो काँधमा रहेको आजको पहिलो र सबभन्दा महŒवपूर्ण कार्यभार यही हो,’ प्रतिवेदनमा भनिएको छ ।
कार्यकर्ता भेला मंसिर २ र ३ गते
एमालेले राष्ट्रिय कार्यकर्ता भेला आउँदो मंसिर २ र ३ गते गर्ने भएको छ । राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।
असोज ५–८ मा बसेको एमाले केन्द्रीय कमिटी बैठकले भेला बोलाउने निर्णय गरेको थियो । भेलामा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सांसदलगायत सहभागी हुने छन् ।
मनोनीत केन्द्रीय सदस्यले लिए शपथ
एमालेका नयाँ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच अध्यक्ष ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शनिबार स्थायी कमिटी बैठकले सिर्जना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद शाह, तेजमान कंगदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।