काठमाडौं- सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरेको छ।
एआइजी दाहालले अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान, प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा आजदेखि लागू हुनेगरी सशस्त्र प्रहरी सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा एआइजी दाहालले आचरणसम्बन्धी प्रावधान बारम्बार उल्लंघन गरेको उल्लेख छ।
गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको भन्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहाललाई यही असोज १९ गते निलम्बन गरेको थियो।
दाहालले पदीय आचरणविपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको सिफारिस प्राप्त भएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको थियो।
मन्त्रालयले सोही दिन दाहाललाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो।