कास्की- पोखरा महानगरपालिकाले पोखरा–२८ मा शुक्रबार भएको कालिका बोर्डिङ स्कुलको स्कुल बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिका सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन्।
समितिलाई दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन र छानबिन गरी पाँच दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
माझठानाबाट विद्यार्थी बोकेको बस कालिकास्थित ओख्लेको भिरमा दुर्घटना हुँदा चार विद्यार्थी सहित पाँच जनाको मृत्यु हुनाका साथै १४ जना विद्यार्थी घाइते छन्।
महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको कारण पहिचान गर्न, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन, छानबिन र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित सुझाव पेस गर्न समिति गठन गरिएको हो।
समितिले विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन तथा आगामी दिनमा अपनाउनुपर्ने सावधानीका विषयमा आवश्यक सुझावसमेत प्रस्तुत गर्ने छ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख आचार्यले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले विद्यालयका सवारीसाधनको नियमित जाँच, निर्धारित सुरक्षा मापदण्डको कडाइका साथ पालना तथा प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन्।
यी हुन् मृतक जना र घाइते
दुर्घटनामा परी मृत्यु हुनेमा पोखरा महानगरपालिका-२८ माझठानाकी १३ वर्षीया ममता तिवारी, सोही ठाउँका १४ वर्षीय अशिम कँडेल, कक्षा १० मा अध्ययनरत माझठानाकी १४ वर्षीया रुमिका नेपाली र माझठानाकै कक्षा १० मा अध्ययरत सुवेच्छा तिवारी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिए। उनका अनुसार उपचारका लागि लिफ्ट मागेर सोही बसमा सवार भएका पोखरा-२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए। घाइतेहरूमा पोखरा-२८ सौर्यकी कक्षा १० मा अध्ययनरत १६ वर्षीया सृष्टी तिवारी, सोही ठाउँका कक्षा १० मा अध्यनरत १६ वर्षीय शिसन थापामगर र डाँडागाउँका १६ वर्षीय कक्षा १० मा अध्यनरत सौगात तिमिल्सिना रहेका छन्। उनीहरूको अवस्था मध्यम रहनुका साथै बोल्न सक्ने अवस्थामा रहेका प्रहरीले जनाएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेमध्ये माझठानाकी १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।
यसैगरी मादी गाउँपालिका-१२ पहिरेकी १४ वर्षीया स्नेहा खत्री, पोखरा-२८ माझठानाकी १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अङ्कित पराजुली, मादी-१२ पहिरेकी १५ वर्षीया स्मृति खत्री, पोखरा-२८ माझठानाकी १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृती बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगर घाइते भएका छन्। उनीहरू सबैको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
बस चालक पोखरा महानगरपालिका–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ। उनको अवस्था मध्यम छ।