काठमाडौं- काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति दुई दिन प्रभावित हुने भएको छ।
विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ। यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको हो।
नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ-स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ सूचालक जडान गरिरहेको छ। उक्त कार्यका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्ने छ।
कम क्षमताको पुरानो सूचालकको सट्टा ‘एचटिएलएस कन्डक्टर’ (बढी क्षमताको विद्युतीयर भार वहन गर्न सक्ने) सूचालक जडान गर्न लागिएको हो। डबल सर्किट लाइनको एउटा सर्किटको करिब ४०० मिटर सूचालक बदल्न बाँकी रहेको छ। उक्त कार्य सम्पन्न भएपछि प्रसारणलाइनको विद्युत् बहन क्षमता अभिवृद्धि हुनुका साथै बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रसारणलाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सवस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ। निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको र मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने जनाइएको छ।