काठमाडौं- स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको नक्सालमा कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू पारित गरेको छ।
सभाले अध्यक्ष कार्कीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायत अन्य विविध तथा विशेष प्रस्तावहरू समेत अनुमोदन गरिएको कम्पनीले जनाएको छ।
साधारण सभाले कम्पनीको हाल कायम चुक्तापुँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बोनस सेयर वितरणसँगै कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ।
कम्पनीको कारोबार सिंहावलोकनअनुसार आर्थिक वर्ष २०८२/८३ सम्ममा कम्पनीको चुक्तापुँजी ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको जगेडा कोषमा १० करोड ६८ लाख ११ हजार २६५ रुपैयाँ रहेको छ भने स्थिर सम्पत्ति २ अर्ब ७७ करोड २९ लाख ५० हजार १८५ रुपैयाँ पुगेको जनाइएको छ।
त्यसैगरी, कम्पनीले असार महिनासम्म ७ करोड ८ लाख ६४ हजार ३०.८५ किलोवाट विद्युत उत्पादन गरेको जनाएको छ। साथै, ८१ लाख २७ हजार ५४ रुपैयाँ वासलातमा सारिएको कम्पनीले जानकारी दिएको छ।
साधारण सभामा सहभागी सेयरधनीहरूले कम्पनीको वित्तीय अवस्था, उत्पादन तथा आगामी योजनालगायतका विषयमा विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए। उठाइएका सवालहरूको जवाफ अध्यक्ष कार्की तथा कम्पनीका अन्य पदाधिकारीहरूले दिएका थिए।
स्नो रिभर्स लिमिटेडले ताप्लेजुङ जिल्लाको सिरीजङ्गा गाउँपालिका-यम्फुदिनस्थित कावेली खोलामा १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला-ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८१ पुसदेखि व्यावसायिक विद्युत उत्पादन गर्दै आएको छ।
विविध कार्यक्रमका साथ सम्पन्न साधारण सभाले कम्पनीको आगामी व्यावसायिक गतिविधि तथा सेयरधनीसँग सम्बन्धित विभिन्न प्रस्तावहरू समेत अनुमोदन गरेको कम्पनीले जनाएको छ।