त्रिभुवन विश्वविद्यालयको क्यान्टिनको केही पल ‘नेपाल यस्तो होस्’ भन्ने दृष्टिकोण निर्माणको संवादबाट हेर्दा खुला विश्वविद्यालय बन्यो। लामो समयसम्म विश्वविद्यालयको प्राध्यापन पेसामा संलग्न अर्थशास्त्रका विशेषज्ञ प्राध्यापक कृष्ण गुरुसँगको कफी गफले नेपाललाई कसरी विकास गर्न सकिन्छ भन्ने अनौपचारिक मार्गचित्रको खाका निर्माणमा महत्त्वपूर्ण बन्यो।
कृष्ण सरको विद्यार्थी त म होइन, परन्तु विचार विमर्शको प्राज्ञिक निकटताले हामीहरुको मित्रवत पल नयाँ भने होइन। तथापि यो कफी गफको अवसर जुटाउने मित्र मुक्तिको योगदान प्रशंसनीय छ। मुक्तिकै आग्रहमा जुटेको यो संयोग कफीको चाहना मेटाउने कार्यमामात्र सीमित रहेन। सम्पूर्ण नेपालीले चाहेको ‘देश निर्माण’ गर्ने योजनाको हिसाबले अर्थपूर्ण रह्यो।
टेबलमा कफी नआइसकेको समयलाई उपयोग गर्दै कृष्ण सरले मुक्ति र मेरो अनुहारतिर हेर्र्दै भने, ‘तिमीहरुलाई अबको नेपाल कस्तो होस् भन्ने लाग्छ?’ मुक्तिले मुसुक्क हाँस्दै सरल भाषामा भने, ‘सुशासन र विकास। सबै क्षेत्रमा राम्रो होस्।’ कफीको कप टेबलमा राख्दै कृष्ण सरले मुक्तितिर हेर्दै भने, ‘यो त किसान, मजदुर, विद्यार्थीदेखि नेताहरुसम्मले भन्ने गरेको विषय होइन र?’ उनले थपे, ‘मैले सोधेको यो होइन, कस्तो देश बनाउन के गर्नुपर्छ भन्ने हो।’
कृष्ण सरले कप मुखतिर सोझाउँदै म तिर हेरे। हामीले चाहेको ‘देश यस्तो होस्’ भन्ने अवसरको रुपमा म बोलेँ, ‘एक वाक्यमा भन्नुपर्दा मौलिक पहिचानसहितको आधुनिक समाज सबैको चाहना हो। यसो गर्दा दुईवटा ‘स्कुल अफ थट’लाई विकासको मोडेल बनाउनुपर्छ। एउटा मोडेल अल्पकालीन र अर्को दीर्घकालीन। मेरो कुराले कृष्ण सरलाई अलि चाख लागेछ क्यारे ! सरले अंग्रेजीमा प्रश्न तेस्र्याए, ‘पहिलो र दोस्रो स्कूल अफ थटका योजनाहरु कति व्यावहारिक छन्? आर दे एप्लिकेबल?’
कृष्ण सरको प्रश्नको जवाफमा ‘नेपाल यस्तो हुनुपर्छ भन्ने विचार व्यक्त गर्दा देशलाई पहिलो चरणमा कृषि क्षेत्रमा न्युजिल्याण्ड र इजरायल मोडेलमा विकास गर्नुपर्छ। यसो गर्दा यस क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण, बजारीकरण तथा व्यावसायीकरण गर्न आवश्यक हुन्छ।’ मैले यसो भनेर नभ्याउँदै कृष्ण सरले भने, ‘यो कुरा नयाँ होइन। राजनीतिक दलहरुले भन्दै आएको विषय हो।’
अँ हो सर। तर गरेको विषय होइन। अब गर्नुपर्छ भन्ने हो। यसो गर्दा राज्यले हरेक स्थानीय तहमा आधुनिक कृषि उत्पादनका तालिमहरु सञ्चालन गर्न आवश्यक हुन्छ। स्थानीय तहका किसान परिवार तथा बेरोजगार युवाहरुलाई त्यहाँको हावा, पानी, माटो तथा उत्पादनको सम्भावनाको आधारमा आधुनिक कृषि तथा पशुपन्छी पालनका तालिमहरु सञ्चालन गर्नुपर्छ। कतिपय पकेट क्षेत्रहरुमा त्यहीअनुरुपका उत्पादनका लागि तालिम दिनुपर्छ।’
मैले थपेँ, ‘हरेक पालिकाहरुमा आधुनिक जातका गाई, भैँसी, भेँडा, बाख्रा, कुखुरा, माछा पालन, माहुरी पालन, केरा, कागती, मेवालगायतका फल तथा पुष्पखेतीका लोभलाग्दा आधुनिक फार्महरु देशभरि हुन सकेमा यो क्षेत्रमा कृषि क्रान्तिको सुरुआत हुन्छ। राज्यले कृषि नीति, कार्ययोजना निर्माण गरी ६० प्रतिशतभन्दा बढीक कृषिमा संलग्न रहेको जनसंख्यालाई आधुनिक उत्पादनमा संलग्न गराउनुपर्छ। कृष्ण सरले टाउको हल्लाउँदै भने, ‘अँ, गुड आइडिया।’ उनले भने, ‘यसको साथै राज्यले ग्रामीण क्षेत्रको अर्थतन्त्र उकास्न कृषि उत्पादनमा आधारित उद्योगहरु स्थापना गर्न साहु, महाजन, व्यापारी तथा उद्योगपतिहरुलाई प्रोत्साहन गर्नुपर्छ।’
कृष्ण सरको समर्थनले मलाई प्रेरित गर्यो, र मैले थपेँ। कृषि क्षेत्रको आधुनिकीकरणसँगै देश खाद्यान्नमा आत्मनिर्भर बन्ने छ। व्यापार घाटामा न्यूनीकरण हुने छ। माछा, मासु, फलफूल, तरकारीलगायतका क्षेत्रमा हुने उत्पादनसँगै किसान परिवारको आयआर्जनमा वृद्धि हुनुका साथै बेरोजगारीको समस्यालाई कृषि क्षेत्रले सहयोग गर्ने छ। किसानको खल्तीमा पैसा हुने छ। होइन र?
आजका विकसित राष्ट्रहरुको विकासको आधार त्यहाँको शिक्षा हो। विकसित राष्ट्रहरुले विद्यालय र विश्वविद्यालयको शिक्षण पेसालाई अत्यन्त मर्यादित एवं प्राज्ञिकरुपमा हेर्ने गरेको पाइन्छ। शिक्षक प्राध्यापकहरु हरेक क्षेत्रमा आवश्यक पर्ने सक्षम जनशक्ति उत्पादन गर्ने अब्बलस्तरका प्राज्ञिक पुँजीको रुपमा हेरेको देखिन्छ। प्रतिभावान् एवं सक्षम जनशक्तिलाई शिक्षण पेसा आकर्षक गर्ने नीतिगत प्रबन्ध गरेको पाइन्छ। हाम्रो देशको सन्दर्भमा उत्कृष्ट विद्यार्थीहरुको रोजाइ शिक्षण पेसा होइन, डाक्टर, इञ्जिनियर, पाइलट, अधिकृत, सुब्बा, बैकिङ क्षेत्रलगायत रहेका देखिन्छ। अनि शिक्षण सिकाइ कसरी गुणस्तरीय हुन सक्छ?
कफी गफको निरन्तरतामा मुक्तिले भने, ‘पर्यटन क्षेत्रको विकास पनि हाम्रोजस्तो देशमा सहजरुपमा गर्न सकिने विषय हो।’ मुक्तिको प्रश्नले कृष्णसरको मुहार उज्यालो भयो। उनले भने, ‘ठीक भन्याै । पर्यटनको कुरा गर्दा अहिले पर्यटन क्षेत्रको रुपमा चलिरहेका क्षेत्रहरुमा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ। स्थानीय तहले आफ्ना पालिकामा रहेका ठाउँहरुलाई पहिचान गर्नुपर्छ। स्थानीय सरकारले आ–आफ्ना पालिकाहरुमा रहेका पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास, प्रचारप्रसार तथा सञ्चालन गर्नका लागि प्रदेश र संघीय सरकारसँग सहकार्य गर्नुपर्छ। पर्यटकीय क्षेत्रमा आवश्यक पर्ने होटेल मोटेल, इन्टरनेट, जिपलाइन, केवलकारलगायतको क्षेत्रमा लगानी गर्न ठूला व्यापारी घराना, साहु, महाजनहरुसँग सहकार्य गर्नुपर्छ।
मुक्तिको विचारलाई समर्थन गर्दै मैले थपे, ‘पछिल्लो समयमा धार्मिक पर्यटनको रुपमा अर्घाखाँची जिल्लाको सुपा देउरालीको जसरी धार्मिक महत्त्व बढेर हरेक दिन हजारौंको संख्यामा धार्मिक पर्यटक पुग्ने गर्छन्। त्यसैगरी हरेक जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रहरुको पहिचान, प्रचारप्रसार, पूर्वाधार निर्माणलगायतका कामहरु गर्नुपर्छ।
विचार विमर्शकै क्रममा कृष्ण सरले कफीको कप ओठतिर सोझ्याउँदै म तिर पुलुक्क हेर्दै भने, ‘शिक्षाकोबारेमा तिमीले विचार राख्दा कसो होला?’ कृष्ण सरको प्रश्नको जवाफमा मैले भनेँ, ‘अबको शिक्षा हिजो र आजको ढाँचा र शैलीमा चलाउनु हुँदैन। शिक्षा देश विकासको आधार भएकोले यस क्षेत्रको रुपान्तरण आवश्यकमात्र होइन, अनिवार्य सर्त हो। यसो गर्दा राज्य, शिक्षक र अभिभावकको त्रिपक्षीय भूमिका आवश्यक ठानिन्छ। शिक्षा क्षेत्रको रुपान्तरणका लागि राज्य, शिक्षक तथा अभिभावकको भूमिका प्रभावकारी बनाउनुपर्छ।
राज्यले शिक्षा नीतिमा परिवर्तन, समयसापेक्ष पाठ्यक्रम निर्माण तथा शिक्षण सिकाइमा सुधार आवश्यक ठानिन्छ। पाठ्यक्रमलाई व्यावसायिक, सीपमूलक, व्यावहारिक, अनुसन्धानमुखी तथा जीवन उपयोगी बनाउनुपर्छ। यसो गर्दा राज्यले प्राज्ञिक क्षमताको उपयोग गर्न देशका प्राज्ञिक, विज्ञ, विशेषज्ञ, तथा थिंक ट्यांकसँग सहकार्य गर्नुपर्छ। शिक्षक छनोट, शिक्षक व्यवस्थापन तथा शैक्षिक जनशक्तिको मनोविज्ञान उठाउनुपर्छ।
कफीको कप टेबलमा राख्दै मैले थपेँ– युरोप, अमेरिका, अस्ट्रेलियालगायतका विकसित राष्ट्रहरुको विद्यालय र विश्वविद्यालयहरुको अवस्थाले त्यहाँको विकासको महत्वपूर्ण भूमिका खेलेका छन्। आजका विकसित राष्ट्रहरुको विकासको आधार त्यहाँको शिक्षा हो। विकसित राष्ट्रहरुले विद्यालय र विश्वविद्यालयको शिक्षण पेसालाई अत्यन्त मर्यादित एवं प्राज्ञिकरुपमा हेर्ने गरेको पाइन्छ। शिक्षक प्राध्यापकहरु हरेक क्षेत्रमा आवश्यक पर्ने सक्षम जनशक्ति उत्पादन गर्ने अब्बलस्तरका प्राज्ञिक पुँजीको रुपमा हेरेको देखिन्छ। प्रतिभावान् एवं सक्षम जनशक्तिलाई शिक्षण पेसा आकर्षक गर्ने नीतिगत प्रबन्ध गरेको पाइन्छ। हाम्रो देशको सन्दर्भमा उत्कृष्ट विद्यार्थीहरुको रोजाइ शिक्षण पेसा होइन, डाक्टर, इञ्जिनियर, पाइलट, अधिकृत, सुब्बा, बैकिङ क्षेत्रलगायत रहेका देखिन्छ। अनि शिक्षण सिकाइ कसरी गुणस्तरीय हुन सक्छ?
देशका शिक्षण संस्थाहरुलाई भौतिकरुपमा सम्पन्न बनाउँदै शिक्षण पेसालाई मेरिटोक्रेसीमा सञ्चालन गर्ने नीतिगत व्यवस्था गर्नुपर्छ। शिक्षण पेसालाई आकर्षक बनाउन शिक्षक प्राध्यापकहरुलाई आर्थिक, सामाजिक तथा पेसागत मर्यादाको स्तर उकास्नुपर्छ। अभिभावकको भूमिका सक्रिय हुनुपर्छ।
कृष्ण सरको सुन्ने धैर्यता र जिज्ञाषा कफीको गिलास रित्तिइसकेपछि पनि रोकिएन। उनले मुक्तितिर हेर्दै भने, ‘हाम्रो प्रशासनतन्त्र कस्तो होस् जस्तो लाग्छ?’ मुक्तिले भने, ‘सरकारी कार्यालयहरुमा संलग्न कर्मचारीहरु हँसिला, मिजासिला, जनसेवामुखी तथा इमान्दार हुनुपर्छ। अबको नेपालमा कर्मचारीहरु जनताको सेवालाई सहज, सरल र छिटोछरितो रुपमा सम्पन्न गर्न सेवामुखी हुनुपर्छ।
गिलास टेबलमा राख्दै मुक्तिले थपे, ‘एकातिर प्रशासनतन्त्रमा रहेको प्रक्रिृयागत झण्झटिलो प्रक्रियालाई बदल्नुपर्छ भने अर्कोतिर कर्मचारीहरुले सर्वसाधारणभन्दा आपूmलाई सुकिलो, मुकिलो जानिफकार व्यक्ति ठान्ने मनोविज्ञानबाट मुक्त हुन आवश्यक छ। कर्मचारीतन्त्रमा रहेको राजनीतिक आशीर्वाद, नातावाद, कृपावाद र लक्ष्मीवादजस्ता क्रियाकलापहरुको अन्त्य गरिनुपर्छ। कर्मचारीहरु मालिक होइन, सेवक भएको आत्मानुभूतिबाट प्रशिक्षित हुनुपर्छ।
सारमा कफी गफको त्रिपक्षीय निष्कर्ष – ‘नेपाल यस्तो होस्’ जहाँ नागरिकहरु आत्मिकरुपमा सुखी र आर्थिक अवस्थामा समृद्ध होऊन्। कृषि उत्पादनमा देश आत्मनिर्भर बनोस्। किसानहरु धनी तथा सम्मानित बन्न सकून्। युवा पलायन रोकियोस्। देशभित्र नै आयआर्जनका अवसरहरु सिर्जना होऊन्। शिक्षालयहरु अब्बलस्तरमा चलून्। शिक्षा गुणस्तरीय, अनुसन्धानमुखी तथा सिर्जनशील हुन सकोस्। विद्यालय र विश्वविद्यालयहरु राजनीतिक हस्तक्षेपको चपेटामा होइन, स्वतन्त्र, प्राज्ञिकस्थल बनून्। प्रशासनतन्त्रमा हुने गरेको ढिला, सुस्तीको अन्त्य हुन सकोस्। सरकारी सेवा प्रवाह जनमैत्री बनोस्। कर्मचारीहरु सुशासित, सेवामैत्री तथा पारदर्शी होऊन्।