काठमाडौं– ‘निम्स दाइ’ का नामले चर्चित पर्वतारोही स्वर्गीय निर्मल पुर्जाको हेलिकप्टर बिक्री तथा हक हस्तान्तरणमा अदालतले रोक लगाएको छ।
काठमाडौं जिल्ला अदालतले पुर्जाको सेयर स्वामित्वमा रहेको मुस्ताङ हेलिकप्टर प्रालिको हेलिकप्टर बिक्री तथा हक हस्तान्तरण रोक्का गर्ने आदेश गरेको हो।
आरोही पुर्जाको गत साउन १६ गते पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएको थियो। उनको मृत्युपछि उक्त हेलिकोप्टर बिक्रीमा रहेको सार्वजनिक भएसँगै अदालतले त्यसमा रोक लगाएको हो।
काठमाडौं जिल्ला अदालतको यो आदेश घरधनीलाई क्षतिपूर्ति दिन यसअघि अदालतबाट भएको फैसला कार्यान्वयनसँग जोडिएको छ। पुर्जाको ट्रेकिङ कम्पनी इलाइट हिमालयन एडभेञ्चर प्रालिमा आगलागी हुँदा भाडामा लिएको घर पूर्णरुपमा नष्ट भएकोमा उक्त घरका घरधनीलाई क्षतिपूर्ति नदिएका कारण हेलिकप्टर रोक्काको आदेश आएको अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए।
कपनस्थित घरमा अनधिकृतरूपमा भण्डारण गरिएको अक्सिजन र एलपी ग्यास सिलिण्डर विस्फोट भई घर पूर्णरूपमा नष्ट भएपछि घरधनी टंक घिसिङ र दालमुकित्तर घिसिङ विगत पाँच वर्षदेखि कानुनी लडाइँमा थिए।
बूढानीलकण्ठ नगरपालिका–११ स्थित घिसिङ दम्पतीको साढे दुई तल्ले आरसिसी घरमा निम्स दाइको कम्पनी ‘इलाइट हिमालयन एड्भेञ्चर प्रालि’ ले भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको थियो। सोही क्रममा कम्पनीले अनधिकृत रूपमा भण्डारण गरेको अक्सिजन तथा एलपी ग्यास सिलिण्डर विस्फोट हुँदा २०७९ असोज ५ गते घर पूर्णरूपमा नष्ट भएको थियो।
उक्त मुद्दामा पुर्जाका साथै इलाइट हिमालयन एड्भेञ्चरका अन्य सञ्चालकहरू मिङ्माग्याबु शेर्पा (मिङ्मा डेभिड शेर्पा) र मिङ्मातेञ्जी शेर्पासमेत प्रतिवादी छन्। मिङ्माग्याबु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ताप्लेजुङबाट समानुपातिक सांसद हुन्।
काठमाडौं जिल्ला अदालतले घिसिङ दम्पतीलाई एक करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको थियो, जसलाई उच्च अदालत पाटनलेसमेत सदर गरिसकेको छ।
गत साउन १६ गते पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निम्स दाइको निधन भएपछि उक्त हेलिकप्टर/सेयर बिक्री गर्न लागिएको चर्चा चलेको थियो। क्षतिपूर्ति नपाएपछि पीडितका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज लुईंटेलको पहलमा फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिइएको थियो।
सोही प्रक्रियाअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयले यही असोज १३ गते (च.नं. कानुन ९५८) को पत्रमार्फत निम्स दाइ लिमिटेड लण्डनको नाममा रहेको मुस्ताङ हेलिकप्टरको सेयर रोक्का राखिएको जानकारी अदालतलाई गराइसकेको लुईंटेलले बताए।
अदालतको फैसला अनुसारको रकम नतिरी बिक्री गर्न लागिएको हेलिकप्टर रोक्का भएपछि घिसिङ दम्पती फैसला कार्यान्वयनको अन्तिम पर्खाइमा छन् भने अर्कोतर्फ निम्स दाइको कम्पनी उक्त फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ।