काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ।
बुधबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहका प्रभावित घरपरिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम निर्माण गर्न इच्छुक साझेदार संघसंस्थालाई यस्तो आह्वान गरिएको हो।
संघसंस्थाले प्रस्तावमा आफूले निर्माण गर्न चाहेको अस्थायी आवासको संख्या, स्थान र स्थानीय तहको नाम स्पष्ट खुलाउनुपर्ने छ। त्यसैगरी, अस्थायी आवास निर्माण सुरु गर्ने अनुमानित समय र सम्पन्न गर्ने समयसीमासहितको कार्ययोजना पनि समावेश गर्नुपर्ने छ।
यसअघि बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सम्झौता भएको भए सोको विवरणसमेत उल्लेख गर्न पनि सूचनामा भनिएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले इच्छुक साझेदार संघसंस्थाले सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य गर्नुपर्ने जानकारी दिइन्। उनले भनिन्, “अस्थायी आवास बनाउन इच्छुक संघसंस्थाले त्यस सम्बन्धी सम्पूर्ण विवरण खुलाई सात दिनभित्र प्राधिकरणमा प्रस्ताव पेस गर्नुपर्ने छ।'