जापानको नागोयामा आयोजित २०औं एसियाली खेलकुद एसियाडमा नेपालले हासिल गरेको परिणाम र नेपालका खेल अधिकारीहरुले गरेको अपेक्षामा ठूलो ठेस लागेको छ। राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको ‘मिसन २०२६’ को लक्ष्यअनुसार नेपाली खेल टोली एसियाडमा प्रतिस्पर्धाका लागि प्रस्थान गर्दा यसपटक नेपालले विगतको भन्दा ठूलो उपलब्धि हासिल गर्ने पूर्वअनुमान गरिएको थियो।
नेपालले एसियाडमा ७५ वर्ष लामो सहभागितामा पहिलोपटक स्वर्ण र दोहोरो अंकमा पदक जित्ने पूर्वउद्घोष दुई कास्य पदकमा सीमित हुन पुगेको छ। नेपाली खेल टोलीले धेरै पदकको सपना देखे पनि लक्ष्य, तयारी तथा खेलाडीहरुको स्तरबीच तालमेल हुन नसकेको स्पष्ट देखियो। खेल अधिकारीहरुले पदकको आशा गरेका खेलाडीहरुसमेत सफलता हात पार्न नसकेर खाली हात फर्कनुपरेपछि नागोयाको सहभागिताबारे गम्भीर प्रश्न उठेको छ।
तेञ्जिङको आरोहण
विश्व मानचित्रमा मुलुकको नाम जाज्वल्यमान गराउने काममा हिमाल आरोही शेर्पाहरुको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। यसपालि एसियाडमा पनि एक शेर्पा खेलाडीले पहिलोपटक पदक जितेर पदक तालिकामा नेपालको नाम आरोहण गराउनु कम चुनौतीपूर्ण थिएन। नागोयामा सहभागी भएका नेपाली कराँते खेलाडीहरुमध्ये तेञ्जिङ शेर्पा मुलुकलाई पहिलो कास्य पदक दिलाउने भाग्यमानी बन्न पुगेका थिए।
पहिलो खेलमै मकाउका प्रतिस्पर्धीले चारपटक गल्ती गर्दै अयोग्य घोषित भएपछि तेञ्जिङले सोझै सेमिफाइनलमा पुग्ने अवसर पाएका थिए। पदक प्राप्तिको अत्यधिक अपेक्षा गरिएको कराँते खेलतर्फ चौथो दिनसम्म कुनै खेलाडीले पनि सफलता नपाइरहेको बेला शेर्पाले एक कास्य पदक पाएर मुलुकको इज्जत जोगाएका छन्।
निरुपा डोङ तामाङ प्रारम्भिक चरणमै हङकङकी खेलाडीसँग पराजित भएर बाहिरिएकी थिइन्। व्यक्तिगत कातामा सानुमाया थिङ दक्षिण कोरियाकी खेलाडीसँग पराजित भएर राउण्ड अफ १६ बाट बाहिरिएकी थिइन्। नेपाली महिला काता टिम पनि पदक हासिल गर्नबाट बञ्चित हुन पुगेपछि कराँतेमा थप पदक आउने सम्भावनाको अन्त्य भएको थियो।
कुमुते तथा कातामा सहभागी अन्य सात सहकर्मी पराजित भएर मैदानबाट बाहिर सकेको अवस्थामा कराँते खेलको अन्तिम दिन तेञ्जिङ इरानी खेलाडीसँग सेमिफाइनलमा हारे पनि तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा लाओसका खेलाडीलाई विशाल अंकको अन्तरले हराएर कास्य पदकको हकदार बन्न पुगेका थिए।
मुलुकमा बाढी र पहिरोको समस्याले सबै शोकमा रहेका बेला आफूले अलिकति भए पनि खुसीको सञ्चार गराउन सकेकामा पदक विजेता तेञ्जिङले सन्तोष व्यक्त गरेका छन्। स्वदेश फर्केपछि विमानस्थलमा उनले आफूले जितेको पदक जन्मदाता आमालाई लगाएर सम्मानित गरेको क्षण अनुकरणीय मान्न सकिन्छ।

अर्को पदक पनि आमालाई
तीन वर्षअघि चीनमा तथा यसपालि गरी एसियाडमा लगातार दुईपटक कास्य पदक जितेको नेपाली महिला कबड्डी टिमका सदस्यहरुले आफूले हासिल गरेको पदक पनि आमाप्रति समर्पित गरेर मातृभक्ति दर्साएका छन्। नेपालको दुईपटकको विजयमा महत्त्वपूर्ण भूमिका खेलेकी कबड्डी प्रशिक्षक पार्वती राईलाई खेलाडीहरुले आमा सम्बोधन गर्दै सबै पदक लगाएर सम्मान गरेको क्षण अत्यन्त गर्विलो थियो।
नागोयामा विभिन्न खेलमा दिनहुँजसो नेपाली खेलाडीहरुको निरासाजनक नतिजा आइरहेको बेला मनमती विष्टको नेतृत्वमा रहेको नेपाली महिला कबड्डी टिमले एसियाडमा दोस्रोपटक कास्य पदक जितेर इतिहास कायम गर्न सफल भएको थियो। थाइल्याण्ड र श्रीलंकालाई दबाब दिँदै हराउन सफल नेपाली टिम चाइनिज ताइपेइसँग भने पराजित हुन पुगेको थियो।
सेमिफाइनलमा नेपाली टिम भारतसँग पराजित भई कास्य पदकमा सीमित हुन पुगे पनि नेपाली महिला कबड्डीमा नेपालले आगामी दिनमा थप सफलता प्राप्त गर्न सक्ने संकेत देखिएको छ। महिला कबड्डीमा भारतीय टिम तुलनात्मकरुपमा अन्य टिमभन्दा बलियो मानिएको छ। नेपाली टिम भारतसँग पराजित भएको यो पहिलोपटक थिएन। अघिल्लो एसियाडमा पनि नेपाल सेमिफाइनलमा भारतसँगै हारेको थियो। १३औं दक्षिण एसियाली खेलकुदको महिला कबड्डी फाइनलमा पनि नेपाल भारतसँग पराजित भई रजत पदकमा सीमित भएको थियो।
यस्तै, एसियालीमहिला कबड्डी च्यापियनसीपमा पनि नेपाल भारतसँग पराजित हुँदै कास्य पदक लिएर स्वदेश फर्केको थियो। अब आउने प्रतिस्पर्धाहरुमा पुरानो प्रतिद्वन्द्वी टिमलाई परास्त गर्नसक्ने गरी महिला कबड्डी टिमलाई सक्षम बनाउन सम्बन्धित पक्षले यथोचित कदम चाल्नुपर्ने जरुरी देखिन्छ। यसका लागि सबैभन्दा पहिले कबड्डीका लागि छुट्टै कभर्ड हलको आवश्यकता महसुस गरिएको छ। एसियाडमा नेपालको महिला टिमको तुलनामा पुरुष कबड्डी टिम भने कमजोर देखिएको थियो। समूह चरणको अन्तिम खेलमा नेपाली पुरुष कबड्डी टिमले मलेसियालाई हराउँदै सान्त्वना जित हात पारे पनि अघिल्लो तीनै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो। एसियाडको अनुभव भोलि आउने प्रतिस्पर्धाका लागि उपयोगी हुने कुरामा सहमत हुन सकिन्छ।

आशा गरिएकाहरु चुकेपछि
कराँतेमा नेपालका तीन खेलाडी कास्य पदकको भिडन्त अवधिसम्म र अन्य चार जना प्रारम्भिक चरणमा बाहिरिनु दुर्भाग्य रह्यो। एसियाडमा स्वर्ण पदकको अपेक्षा गरिएकी कराते खेलाडी एरिका गुरुङ भिडन्तमा दुई सेकेण्ड टिक्न नसक्दा रित्तो हात फर्कनुपर्यो। अघिल्लो एसियाडमा रजत पदक जितेपछि लगातार विभिन्न वैदेशिक प्रतियोगितामा पदक जित्न सफल एरिका करिब तीन वर्षको प्रशिक्षणपछि उच्च मनोबलका साथ जापान गएकी थिइन्। उनले क्रमिकरुपमा हासिल गर्दै गएको सफलताको कारण उनीप्रति स्वर्ण पदकको अपेक्षा गरिएको थियो।
उनलाई जित्नैपर्ने मनोवैज्ञानिक दबाब पनि थियो। पहिलो खेलमै जोर्डनकी यारा नासेरलाई एक अंकका विरुद्ध सात अंकको फराकिलो अन्तरले पराजित गरेर उनले राम्रो सम्भावनाको संकेत देखाएकी थिइन् तर दुर्भाग्य सेमिफाइनलको भिडन्त एरिकालाई विगतमा तीनपटक पराजित गरिसकेकी काजाकिस्तानकी सोफ्या बेरुत्सेभासँग हुन पुग्यो। उनीसँग एरिका पराजित हुन पुगिन्। गत एसियाडमा पनि एरिका उनैसँग हारेकी थिइन्। त्यसपछि दुईपटक प्रिमियर लिग फाइनलमा पनि उनैको जित भएको थियो। रिपिचेजबाट कास्य पदक जित्ने सम्भावना भए पनि एरिका साउदी अरेबियाकी खेलाडीसँग हारेपछि नेपालको पदकको सम्भावना गुमेको थियो।
कराँते खेलाडी मीनबहादुर तामाङ हङकङ तथा ताजिकिस्तानका खेलाडीलाई हराउँदै सेमिफाइनलमा पुगेर पदकको सम्भावित दाबेदारका रुपमा प्रस्तुत गरेका थिए। तर उनी सेमिफाइनलमा कुवेत तथा कास्य पदकका लागि भएको खेलमा साउदी अरेबियाका खेलाडीसँग पराजित भएपछि पदकको सम्भावना रहेन। पहिलो चरणमा बाई पाएका राकेश मानन्धरले थाइल्याण्डका खेलाडीलाई भारी अंकको अन्तरले हराई क्वाटरफाइनल खेल जितेका थिए तर उनी सेमिफाइनलमा उज्वेकिस्तान र कास्य पदकका लागि भएको खेलमा मलेसियाका खेलाडीसँग हारेका थिए।
निरुपा डोङ तामाङ प्रारम्भिक चरणमै हङकङकी खेलाडीसँग पराजित भएर बाहिरिएकी थिइन्। व्यक्तिगत कातामा सानुमाया थिङ दक्षिण कोरियाकी खेलाडीसँग पराजित भएर राउण्ड अफ १६ बाट बाहिरिएकी थिइन्। नेपाली महिला काता टिम पनि पदक हासिल गर्नबाट बञ्चित हुन पुगेपछि कराँतेमा थप पदक आउने सम्भावनाको अन्त्य भएको थियो।
बक्सिङ खेलाडी चन्द्रबहादुर थापालाई पनि एसियाडमा स्वर्ण पदकको दाबेदारका रुपमै हेरिएको थियो। वल्र्ड बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेर नेपाली खेलाडीहरुमध्ये हालसम्मकै सर्वाधिक ७५ हजार डलर पुरस्कार पाएका खेलाडी थापासहित अन्य नेपाली पुरुष तथा महिला बक्सिङ खेलाडी पराजित भएपछि बक्सिङको सम्भावना पनि गुम्न पुगेको थियो। बक्सिङमा केही खेलाडी प्रारम्भिक तथा दोस्रो चरणसम्म पुगेका थिए।
पदकको अपेक्षा गरिएको उसु खेलमा कुनै पनि नेपाली खेलाडीको उल्लेखनीय प्रदर्शन हुन सकेन। दोस्रोपटक एसियाडमा भाग लिएको नेपाली महिला भलिबल टिमले नागोयामा सहभागीहरुमध्ये १२औं स्थान प्राप्त गर्यो। नेपालले खेलेका कूल पाँच खेलमध्ये चार खेलमा हारेको थियो भने एक खेल जितेको थियो। नेपाल जापान, हङकङ, इण्डोनेसिया र मंगोलियासँग लगातार सोझो सेटले पराजित भएको थियो भने नेपालले कीर्गिस्तानलाई लगातार सोझो सेटमा हराएको थियो। जुडोमा पनि चार खेलाडी पहिलो चरणमै बाहिरिएका थिए। टेनिस डबल्समा नेपाली खेलाडी दोस्रो चरणसम्म पुगेका थिए।
सफ्ट टेनिसको मिक्स्ड डबल्समा नेपाल पहिलो खेलमा चाइनिज ताइपेइसँग हारे पनि दोस्रो मंगोलियालाई हराई समूहको उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको थियो तर त्यसपछि अघि बढ्न असफल भई नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।
टेबुलटेनिसको मिक्स डबल्समा नेपालले पाकिस्तानलाई लगातार सोझो सेटले पराजित गर्दै दोस्रो चरणमा पुगे पनि हङकङसँग हारेपछि घर फर्कनुपरेको थियो। ब्याडमिण्टनको पुरुष सिंंगल्समा नेपालका क्षितिज खनाल पहिलो चरणमा विजय बने पनि दोस्रो चरणमा इरानका खेलाडीसँग हार्न पुगे। महिला सिंगल्सतर्फ रिहाना शेरचन दोस्रो चरणमा पुगे पनि श्रीलंकाकी खेलाडीसँग पराजित भएपछि यात्रा टुंगिएको थियो।
नेपालले हालसम्म सबैभन्दा धेरै १४ वटा पदक ल्याएको ताइक्वाण्डो खेलमा पछिल्लोपटक सन् २००६ मा पदक प्राप्त गरेको थियो। २० वर्षपछि पनि नेपालले पदक जित्न नसकी प्रारम्भिक चरणमै प्रतियोगिताबाट बाहिरिनुपर्यो। अन्य केही खेलमा पनि नेपाली खेलाडीले प्रारम्भिक चरणमा राम्रो प्रदर्शन गरेर सुखद् संकेत देखाए पनि अघिल्ला चरणमा बाहिरिनु नेपालका लागि दुर्भाग्य हुन गयो।
नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल वर्षाको कारण हुन नसकेर विश्व वरीयताको आधारमा श्रीलंका सेमिफाइनलमा पुगेपछि नेपालको अघिल्लो यात्रा रोकिन पुग्यो। वर्षाको कारण प्रतियोगताका चारवटै क्वाटरफाइनल हुन सकेका थिएनन्। खेलको निर्धारित समयमा पानी परे अर्को दिन खेलाएर नतिजा निर्धारण गर्नु पर्दथ्यो।
नेपालका आर्चरी खेलाडी सबै प्रतिस्पर्धाबाट बाहिरिएको थियो। एथलेटिक्स, साईक्लिङ, गल्फ, स्केट बोर्डिङ, स्क्वास, कुस्तीलगायतका खेलमा पनि नेपाली खेलाडीहरुको प्रदर्शन सन्तोषजनक हुन सकेन। एसियाडमा प्रतियोगिताहरु समाप्त हुँदै गइरहेको समयमा नेपाली खेलाडीले क्यानोइङमा पदकको सम्भावना देखाए पनि सफलता भने हात लागेन। नेपालका विजय माझीले उत्कृष्ट प्रदर्शन गर्दै पुरुष कायक सिंंगल स्लालोमको फाइनल चरणसम्म पुग्दै १०औं स्थान हासिल गरेका थिए। अर्का खेलाडी आशिष रानामगर सेमिफाइनल र कायक क्रसमा क्वाटरफाइनलसम्म पुगेका थिए।
रित्तो हात फर्कनु परेन
नेपाली कराँते टिम एसियाडमा एक कास्य पदकमै सीमित भएता पनि जापानमै भएको ११औं विश्व सितोरियो कराँते डो च्याम्पियनसिपमा छ वटा पदक जितेर उत्साहित हुँदै स्वदेश फर्कनु सुखद संयोग मानिएको छ। उक्त प्रतियोगितामा चर्चित नेपाली कराते खेलाडी एरिका गुरुङले स्वर्ण पदक जितेपछि एसियाडले बनाएको निरासा फेरि खुसीमा परिणत गर्न सफलता प्राप्त गरेकी थिइन्।
त्यस्तै, राकेश मानन्धरले पनि स्वर्ण पदक जितेर जापानबाट पदक ल्याउन सपना पूरा गरेका थिए। सो प्रतियोगितामा नेपाली खेलाडी निरुपा डोङ तामाङले रजत पदक तथा मीनबहादुर तामाङले कास्य पदक पाएका थिए। नेपाली खेलाडीहरुले कुमितेतर्फ टिम प्रतिस्पर्धा तथा मेघा लिम्बू, सानुमाया थिङ र एलिशा रास्कोटी सम्मिलित काता टोलीले पाएको कास्य पदकबाट नेपाली कराँते टोलीलाई आगामी दिनमा अझ उत्साहका साथ प्रदर्शन गर्न ऊर्जा मिलेको महसुस गरिएको छ।
नहार्दै बाहिरिँदाको पीडा
कुनै पनि खेलको निर्णय खेलपछि हुने जित वा हारले गर्ने गर्दछ तर एसियाडमा खेल्दै नखेली विश्व वरीयतामा अगाडि रहेका देश अघिल्लो चरणमा जान पाउने नियमले क्रिकेटमा भर्खंरै आफ्नो स्थान बनाउन प्रयास गरिरहेको नेपालजस्तो मुलुकलाई समस्या परेको छ। एसियाडमा नेपाली क्रिकेट टोली कुनै खेलमा पराजित नभएता पनि प्रतियोगिताबाट बाहिरिनु परेकामा खेलाडीहरुका साथै नेपाल टोलीको हौसला बढाउन नागोयाको मैदानमै पुगेका खेलप्रेमीहरु निराश हुन पुगेका थिए।
नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल वर्षाको कारण हुन नसकेर विश्व वरीयताको आधारमा श्रीलंका सेमिफाइनलमा पुगेपछि नेपालको अघिल्लो यात्रा रोकिन पुग्यो। वर्षाको कारण प्रतियोगताका चारवटै क्वाटरफाइनल हुन सकेका थिएनन्। खेलको निर्धारित समयमा पानी परे अर्को दिन खेलाएर नतिजा निर्धारण गर्नु पर्दथ्यो।
नेपालले पहिलो खेलमा १२ वर्षपछि अफगानिस्तानलाई पराजित गर्न सफल भएको थियो। जापानसँग भएको दोस्रो खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाल समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो। टस नै नगरिएको अवस्थामा प्रतियोगिताबाट बाहिरिनुपरेपछि नेपाललगायतका एसोसिएट मुलुकले यस्तो अव्यावहारिक नियम खारेज गर्नका लागि सम्बन्धित निकायमा आवाज उठाउन जरुरी भएको छ।

धेरै खेलमा किन पदक आएन ?
एसियाडमा भाग लिएका ४५ मुलुक तथा क्षेत्रका खेलाडीहरु पदक जित्ने लक्ष्यका साथ नै जापान गएका थिए। एसियाली मुलुककातर्फबाट ओलम्पिक तथा विश्व च्याम्पियनसिपमा पदक जितेका कयौं खेलाडीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए। प्रतियोगितामा नेपाली खेलाडीहरुले आफ्नो क्षमताअनुसारको खेल प्रदर्शन गरे। अपेक्षा गरेअनुसार पदक ल्याउन नसक्नुमा खेलाडीहरुको मात्र दोष छैन। आफ्ना खेलाडीहरुको क्षमतालाई एसियाली खेलकुदको स्तरसम्म लैजान यथेष्ट प्रयास हुन सकेन।
नेपाली खेलकुद क्षेत्रमा संस्थागत विकास भएको सात दशकभन्दा बढी भइसकेको छ तर तल्लो तहदेखि नै खेलकुद क्षेत्रमा आवश्यकता अनुसार लगानी हुन सकेको छैन। सानै उमेरदेखि खेलाडीलाई खेल कौशल सिकाएर दीर्घकालीनरुपमा प्रतिभाशाली खेलाडीहरु उत्पादन गर्ने नियमित प्रशिक्षणको नभएसम्म नेपाल वैदेशिक मैदानमा पछि परिरहनु कुनै नौलो मानिँदैन। अन्य राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्न सक्ने खेलाडीहरु तयार पार्न यथेष्ट लगानी नगरेसम्म पदक प्राप्त त्यति सहज छैन।
यसपालि नेपालले २१ वटा खेलमा सहभागिता जनाउनु उचित थिएन। खेलाडीहरुको खेल प्रदर्शनको धरातलको आँकलन नै नगरेर धेरै खेलमा प्रतिस्पर्धा गर्दा पराजय भोग्नुपर्यो। पदकको सम्भावना भएका खेलमामात्र खेलाडी पठाइएको भए यस्तो स्थिति पक्कै आउँदैनथ्यो। विगतका प्रतियोगितामा प्रदर्शनको इतिहासका साथै पछिल्ला वर्षहरुमा स्वदेशी तथा वैदेशिक प्रतियोगितामा हासिल भएका उपलब्धिका आधारमा खेल चयन हुन सकेन।
नागोयामा नेपालले प्राप्त गरेको परिणामलाई प्रतियोगिता भएको असफलताका रूपमामात्र हेर्नुभन्दा समग्ररुपमा नेपाली खेलकुद प्रणालीको वर्तमान अवस्थाका रुपमा हेर्न सकिन्छ। अब छ महिनापछि नै पाकिस्तानमा हुने दक्षिण एसियाली खेलकुद, सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिक तथा सन् २०३० मा कतारमा हुने एसियाडमा नेपालको पदक आउने आधार बनाउन सरकारले बृहत् मिसनको नेतृत्व लिनुपर्ने हुन्छ।
खेल संघहरुका पदाधिकारीहरुबीच आ–आफ्ना खेललाई जसरी पनि एसियाली खेलकुदमा समावेश गराउने होडमा अत्यधिक खेलमा भाग लिएको नतिजा मैदानमा निराशाजनक प्रदर्शनबाट देखियो। कतिपयले राष्ट्रिय खेलकुद परिषद् तथा सम्बन्धित खेलको उचित योजना तथा व्यवस्थापनको अभावलाई अर्को प्रमुख कारणको रुपमा लिएका छन्। यसमा सीमित बजेट, स्रोतको अस्थिरताको भूमिको साथै खेलाडीहरुको नियमित र दीर्घकालीन प्रशिक्षणको अभाव, अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभवको कमीजस्ता कारणले पनि खेलाडीहरु उचित प्रदर्शन गर्नबाट चुकेको देखिन्छ।
नेपालको प्रतिनिधित्व गर्दै २०० भन्दा बढी संख्यामा खेल टोली जापान पुगेर पनि दुईवटा कास्य पदकमा चित्त बुझाउनुपर्ने स्थिति पक्कै सुखद होइन। दक्षिण एसियाकै मित्र राष्ट्र भुटानले जम्मा १३ जनामात्र खेलाडी पठाएको थियो। बाढीपहिरोको समस्यामा अल्झिरहेको नेपालबाट ठूलो टोलीलाई राज्यले गरेको लगानीबाट प्राप्त प्रतिफल सन्तोषजनक मान्न सकिँदैन।
अबको बाटो
जापानबाट नेपाली खेल अधिकारीहरु स्वदेश फर्केपछि एसियाडमा नेपालको पराजय किन भयो विस्तृतरुपमा समीक्षा गर्नु अत्यन्त जरुरी मानिएको छ। नेपाल कुन खेलमा के कस्ता कमजोरीले गर्दा पराजित हुनुपर्यो भन्नेबारे खेल प्रशिक्षक तथा खेलाडीहरुको अनुभवबाट पनि जानकारी लिनुपर्दछ। यस्तो समीक्षाबाट आएका निचोडलाई आगामी वैदेशिक प्रतियोगिताहरुमा सुधारका लागि प्रयोग गर्नसके विदेशी भूमिमा लज्जाजनकरुपमा पराजय भोग्नुपर्ने स्थिति रहँदैन।
ओलम्पिक, एसियाली खेलकुद तथा दक्षिण एसियाली खेलकुदजस्ता आधिकारिक खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने अबको बाटो भनेको प्राथमिकताका खेलमा केन्द्रित लगानी गर्नु हो। यसका लागि प्रतिभा चयन गरेर योग्य प्रशिक्षकमार्फत उनीहरुलाई निश्चित अवधि तोकेर दीर्घकालीन प्रशिक्षण दिन ढिलो गर्नु हुन्न। खेलविज्ञानलाई प्रशिक्षणको मूल आधार बनाइनुपर्छ। खेलाडीहरुको नियमित प्रदर्शनको अवस्थाबारे सम्बन्धित निकायबाट निगरानी भइरहनुपर्ने आवश्यकता पनि देखिएको छ।
नागोयामा नेपालले प्राप्त गरेको परिणामलाई प्रतियोगिता भएको असफलताका रूपमामात्र हेर्नुभन्दा समग्ररुपमा नेपाली खेलकुद प्रणालीको वर्तमान अवस्थाका रुपमा हेर्न सकिन्छ। अब छ महिनापछि नै पाकिस्तानमा हुने दक्षिण एसियाली खेलकुद, सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिक तथा सन् २०३० मा कतारमा हुने एसियाडमा नेपालको पदक आउने आधार बनाउन सरकारले बृहत् मिसनको नेतृत्व लिनुपर्ने हुन्छ।
राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी तथा सम्बन्धित खेल संघ आपसी विवादमा नअल्मलिई वर्षैभरि बृहत् खेलकुद प्रशिक्षण मिसन सञ्चालन गर्न एकैसाथ जुटनुपर्दछ। नागोया एसियाडमा नेपाली खेलाडीहरुले पदक प्राप्तिका लागि अनुभव गरेका कठिन बाटोलाई कसरी सहज बनाउन सकिन्छ त्यही नै अबको नेपाली खेलकुद जगत्को प्रमुख अभियान हुन सक्दछ। रासस