काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । उनी हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए ।
बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए । उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन् ।
आफ्नो लामो बैंकिङ यात्राका क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षण जस्ता प्रमुख विभागहरूमा कुशलतापूर्वक जिम्मेवारी सम्हालिसक्नुभएको छ । हाल उनी बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीमा कार्यरत थिए ।
यसका साथै, अकेला बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको भूमिकासमेत सम्हाल्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन्।