काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । राणा शासनविरुद्धको सशस्त्र क्रान्ति, निरंकुश पञ्चायतविरुद्ध आन्दोलन र राजतन्त्र अन्त्यको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेस नीति र नेतृत्व बदल्ने लक्ष्यका साथ महाधिवेशनमा होमिएको हो ।
आठ दशक लामो राजनीतिक इतिहास बोकेको कांग्रेसले यसै महाधिवेशनबाट पार्टीको सांगठनिक संरचनासमेत बदल्ने तयारी गरेको छ । पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने यो महाधिवेशनमा सहभागी हुने छैन । यद्यपि, देउवालाई महाधिवेशन उद्घाटनका लागि निम्तो दिएको बताइएको छ ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने प्रवक्ता देवराज चालिसेले बताए । देशभरबाट महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन्् । कांग्रेसले यसपटक सात हजार ७०० प्रतिनिधि सहभागी हुने जनाएको छ । अघिल्लो महाधिवेशनभन्दा प्रतिनिधिको संख्या झण्डै दोब्बरले बढेको छ ।
प्रवक्ता चालिसेले महाधिवेशनको तयारी पूरा भएको जानकारी दिए । शनिबार खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा उनले यसपटकको महाधिवेशनलाई नेतृत्व चयनमामात्रै सीमित नराखेर नीति चयनको अधिवेशन बनाउने प्रयास भइरहेको बताए । ‘यो अधिवेशन नेता चयनभन्दा नीति चयनको अधिवेशनका रूपमा परिणत गर्ने प्रयत्न गर्नेछौं,’ चालिसेले भने ।
कांग्रेसले बिपी कोइरालाको विचारलाई बदलिएको नेपालको आवश्यकतासँग जोडेर आगामी राजनीतिक बाटो तय गर्ने उनको भनाइ छ । आधुनिक र प्रविधियुक्त नेपालको परिकल्पनालाई बिपीको विचारसँग जोड्ने उद्देश्य रहेको उनले बताए । ‘हामी यो महाधिवेशनबाट बिपीको विचारसँग आधुनिक र प्रविधियुक्त नेपालको परिकल्पना जोड्छौं र अघि बढ्छौं,’ उनले भने ।
कांग्रेसले १५औं महाधिवेशनलाई विगतका महाधिवेशनभन्दा केही फरक बनाउने दाबी गरेको छ । प्रवक्ता चालिसेका अनुसार यसपटक नेतृत्व चयनसँगै आगामी पाँच वर्षको नीति स्पष्ट बनाउने प्रयास हुने छ । महाधिवेशन उद्घाटनपछि हुने बन्दसत्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांगठनिक तथा परराष्ट्र नीतिसम्बन्धी विषयमा छलफल हुने छ ।
सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि कांग्रेसको राजनीतिक दिशा समेटिएको कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन् । त्यसमा अर्थतन्त्र, उत्पादन, रोजगारी, परराष्ट्र नीति र शासन व्यवस्थासम्बन्धी विषय समेटिने कांग्रेसले जनाएको छ । उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक राजनीतिक परिस्थितिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
कांग्रेसभित्र लामो समयदेखि महाधिवेशनलाई नेतृत्व चयनमा बढी केन्द्रित गरिएको र नीति बहस कमजोर भएको आलोचना हुँदै आएको छ । यसपटक पार्टी नेतृत्वले भने महाधिवेशनलाई नीति निर्माणको थलो बनाउने बताएको छ ।
सांगठनिक संरचना बदल्ने तयारी
१५औं महाधिवेशनले कांग्रेसको नेतृत्वमात्रै होइन, सांगठनिक संरचनासमेत परिवर्तन गर्ने भएको छ । महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले पार्टीका विभिन्न तहबाट सुझाव संकलन गरेको छ ।
पदाधिकारी संख्या बढाउनुपर्ने प्रस्तावसमेत समितिमा पुगेको छ । विशेषगरी युवालाई पार्टीको माथिल्लो नेतृत्वमा ल्याउनुपर्ने, महिलाको प्रतिनिधित्व बढाउनुपर्ने र खुला सहमहामन्त्रीको व्यवस्था गर्नुपर्ने सुझाव आएको नेताहरूले बताएका छन् ।
विधान संशोधन समितिका सदस्यसचिव प्रताप पौडेलले युवा र महिलाको प्रतिनिधित्व बढाउन दबाब रहेको बताएका छन् । उनले भनेका छन्, ‘यो पटक ३५ वर्षमुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ । उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनुपर्ने सुझाव आएको छ ।’
हालको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र विभिन्न क्लस्टरबाट आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । सभापतिले थप तीन सहमहामन्त्री र एक कोषाध्यक्ष मनोनयन गर्न सक्ने व्यवस्था पनि छ । अब उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या थप्ने विषयमा छलफल भइरहेको बताइएको छ । यद्यपि, विधान संशोधनका सबै प्रावधान यही महाधिवेशनबाट कार्यान्वयन हुन्छन् वा केही व्यवस्था आगामी महाधिवेशनबाट लागू हुन्छन् भन्ने टुंगो लाग्न बाँकी छ ।
यसबीच प्रतिनिधि दर्ताको काम पनि सुरु भइसकेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेशअनुसार छुट्टाछुट्टै स्थानबाट नाम दर्ता भइरहेको हो । प्रत्येक प्रतिनिधिले तीन हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
दर्तापछि प्रतिनिधिलाई झोला, पार्टी विधान, डायरी, कलम, परिचयपत्र र खाना तथा खाजाका कुपन उपलब्ध गराइएको छ ।
महाधिवेशन प्रतिनिधिलाई महाधिवेशनसम्बन्धी सूचना क्युआर कोड र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
कांग्रेसले प्रतिनिधिको बसोबासका लागि गौशाला, कोटेश्वर, ठमेल, लाजिम्पाट, नयाँ बसपार्क, बालाजु, सुन्धारा र कलंकी क्षेत्रका होटलसँग समन्वय गरेको छ । तर, होटल खर्च प्रतिनिधिले आफैं बेहोर्नुपर्ने छ । विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले बेहोर्ने जनाएको छ ।
प्रतिनिधिका लागि बिहान र दिउँसोको खाना पार्टीले उपलब्ध गराउने व्यवस्था गरिएको छ । महाधिवेशनस्थलमा स्वास्थ्य सेवाका लागि चिकित्सक, नर्स र पारामेडिक्ससहित ‘हेल्थ डेस्क’ पनि राखिने भएको छ । आकस्मिक अवस्थाका लागि एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने कांग्रेसले जनाएको छ ।
प्रमुख अतिथिमा देउवालाई निम्तो
१५औं महाधिवेशनको अर्को चासो निवर्तमान सभापति देउवाको सहभागिता हो । सभापति थापाले देउवालाई उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।
निमन्त्रणापत्र बोकेर कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीसहितका नेता देउवा निवास पुगेका थिए । तर, उनीहरूले देउवालाई भेट्न सकेनन् । निमन्त्रणापत्र निवासमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमार्फत बुझाइएको थियो ।
चौधरीका अनुसार थापाले देउवाकै प्रमुख आतिथ्यतामा महाधिवेशन उद्घाटन गराउने इच्छा व्यक्त गरेका छन् । तर, देउवा छुट्टै महाधिवेशन गर्न अगाडि बढेकाले संस्थापनपक्षको महाधिवेशन उद्घाटनमा नआउने निश्चितजस्तै देखिन्छ । देउवा समूहले आगामी मंसिरमा १५औं महाधिवेशन गर्ने तय गर्दै वडा अधिवेशन सुरु गरिसकेको छ ।
कांग्रेसको महाधिवेशन आज उद्घाटन भएपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन गर्ने तयारी छ । त्यसपछि असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने कार्यतालिका बनाइएको छ । त्यसैले आजदेखि सुरु हुने १५औं महाधिवेशन कांग्रेसका लागि अर्को आवधिक महाधिवेशनमात्रै होइन ।
परिवर्तनको मूल शक्ति
नेपाली कांग्रेसको जन्म नै राजनीतिक परिवर्तनका लागि भएको थियो । राणा शासनविरुद्ध आन्दोलन गरिरहेका राजनीतिक शक्तिहरूको एकीकरणबाट नेपाली कांग्रेस स्थापना भएको कांग्रेसको इतिहासबारे जानकार डा. जगत नेपालले बताए । उनका अनुसार २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि नेपाली कांग्रेस बनेको हो ।
त्यसको केही समयपछि २००७ सालको जनक्रान्ति भयो । राणाशासन समाप्त भयो । देशमा प्रजातन्त्र स्थापना भयो । २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा कांग्रेसले बहुमत प्राप्त ग¥यो । बिपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।
तर, २०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार हटाउँदै पञ्चायती व्यवस्था सुरु गरे । कांग्रेस फेरि सडक र संघर्षमा पुग्यो । तीन दशक लामो पञ्चायती शासनविरुद्ध कांग्रेस निरन्तर संघर्षमा रह्यो । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापित भयो । त्यसपछि पनि कांग्रेसको आन्दोलन रोकिएन ।
तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि कांग्रेससहित सात दल आन्दोलनमा उत्रिए । २०६२÷६३ को जनआन्दोलनपछि प्रतिनिधिसभा पुनःस्थापना भयो । त्यसपछि शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन र गणतन्त्र स्थापनाको बाटो खुल्यो । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो ।
राणा शासन हटाउने आन्दोलनदेखि राजतन्त्र अन्त्यसम्मका राजनीतिक परिवर्तनमा आफ्नो भूमिका रहेको कांग्रेसले आफ्नो आधिकारिक इतिहासमा उल्लेख गर्दै आएको छ । अब भने कांग्रेससामु व्यवस्था परिवर्तनभन्दा आफूलाई परिवर्तन गर्ने चुनौती रहेको डा. नेपालले बताए ।
‘राणा शासनविरुद्ध जन्मिएको, पञ्चायतविरुद्ध संघर्ष गरेको र राजतन्त्र अन्त्यसम्मको राजनीतिक यात्रामा जोडिएको कांग्रेस अब आफ्नै संगठन, विचार र नेतृत्व कति बदल्न सक्छ भन्ने परीक्षा पनि यही महाधिवेशनले लिने छ,’ डा. नेपालले प्रभावसँग भने ।
कांग्रेस हाँकेका आठ सभापति
राणा शासनविरुद्धको संघर्षबाट स्थापित नेपाली कांग्रेसले आफ्नो करिब आठ दशक लामो राजनीतिक यात्रामा आठ जना सभापति पायो । कांग्रेसको पहिलो सभापति टंकप्रसाद आचार्य हुन् । २००३ सालमा कलकत्ताको भवानीपुरमा भएको महाधिवेशनबाट उनी सभापति बनेका थिए । त्यसपछि बिपी कोइरालाले कांग्रेसको नेतृत्व सम्हाले । कांग्रेस सभापति उनी तीनपटक भए र उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत बने ।
मातृकाप्रसाद कोइराला कांग्रेसको कांग्रेसको तेस्रो सभापति बने । उनले दुईपटक पार्टीको नेतृत्व गरे । त्यसपछि सुवर्णशमशेर राणा कांग्रेस सभापति बने । राणा परिवारमा जन्मिएका सुवर्णशमशेर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए ।
पञ्चायतविरुद्धको संघर्षको महŒवपूर्ण चरणमा कृष्णप्रसाद भट्टराईले कांग्रेसको नेतृत्व गरे । उनी २०४४ सालमा सभापति बनेका थिए । २०४६ सालको जनआन्दोलनपछि उनी प्रधानमन्त्रीसमेत बने ।
त्यसपछि लामो समय कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरे । उनको नेतृत्व बहुदलीय व्यवस्था, माओवादी शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको महत्वपूर्ण चरणसँग जोडिन्छ ।
१२औं महाधिवेशनबाट सुशील कोइराला सभापति बने । २०७२ सालमा संविधान जारी हुँदा उनी प्रधानमन्त्री थिए । १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति बने । १४औं महाधिवेशनबाट पनि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भए । गत वर्षको पुस अन्तिम साता विशेष महाधिवेशनबाट उनी नेतृत्वबाट अलग हुनुप¥यो, जहाँबाट पार्टी नेतृत्वमा गगन थापा आए । उनकै नेतृत्वमा कांग्रेस आजदेखि १५औं महाधिवेशनमा होमिँदै छ । महाधिवेशनले कांग्रेसको नवौं सभापति चयन गर्ने छ ।