काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ। राणा शासनविरुद्धको सशस्त्र क्रान्ति, निरंकुश पञ्चायतविरुद्ध आन्दोलन र राजतन्त्र अन्त्यको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेस नीति र नेतृत्व बदल्ने लक्ष्यका साथ महाधिवेशनमा होमिएको हो।
आठ दशक लामो राजनीतिक इतिहास बोकेको कांग्रेसले यसै महाधिवेशनबाट पार्टीको सांगठनिक संरचनासमेत बदल्ने तयारी गरेको छ। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने यो महाधिवेशनमा सहभागी हुने छैन। यद्यपि, देउवालाई महाधिवेशन उद्घाटनका लागि निम्तो दिएको बताइएको छ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने प्रवक्ता देवराज चालिसेले बताए। देशभरबाट महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन्। कांग्रेसले यसपटक सात हजार ७०० प्रतिनिधि सहभागी हुने जनाएको छ। अघिल्लो महाधिवेशनभन्दा प्रतिनिधिको संख्या झण्डै दोब्बरले बढेको छ।
प्रवक्ता चालिसेले महाधिवेशनको तयारी पूरा भएको जानकारी दिए। शनिबार खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा उनले यसपटकको महाधिवेशनलाई नेतृत्व चयनमामात्रै सीमित नराखेर नीति चयनको अधिवेशन बनाउने प्रयास भइरहेको बताए। ‘यो अधिवेशन नेता चयनभन्दा नीति चयनको अधिवेशनका रूपमा परिणत गर्ने प्रयत्न गर्नेछौं,’ चालिसेले भने।
कांग्रेसले बिपी कोइरालाको विचारलाई बदलिएको नेपालको आवश्यकतासँग जोडेर आगामी राजनीतिक बाटो तय गर्ने उनको भनाइ छ। आधुनिक र प्रविधियुक्त नेपालको परिकल्पनालाई बिपीको विचारसँग जोड्ने उद्देश्य रहेको उनले बताए। ‘हामी यो महाधिवेशनबाट बिपीको विचारसँग आधुनिक र प्रविधियुक्त नेपालको परिकल्पना जोड्छौं र अघि बढ्छौं,’ उनले भने।
कांग्रेसले १५औं महाधिवेशनलाई विगतका महाधिवेशनभन्दा केही फरक बनाउने दाबी गरेको छ। प्रवक्ता चालिसेका अनुसार यसपटक नेतृत्व चयनसँगै आगामी पाँच वर्षको नीति स्पष्ट बनाउने प्रयास हुने छ। महाधिवेशन उद्घाटनपछि हुने बन्दसत्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांगठनिक तथा परराष्ट्र नीतिसम्बन्धी विषयमा छलफल हुने छ।
सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि कांग्रेसको राजनीतिक दिशा समेटिएको कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन्। त्यसमा अर्थतन्त्र, उत्पादन, रोजगारी, परराष्ट्र नीति र शासन व्यवस्थासम्बन्धी विषय समेटिने कांग्रेसले जनाएको छ। उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक राजनीतिक परिस्थितिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
कांग्रेसभित्र लामो समयदेखि महाधिवेशनलाई नेतृत्व चयनमा बढी केन्द्रित गरिएको र नीति बहस कमजोर भएको आलोचना हुँदै आएको छ। यसपटक पार्टी नेतृत्वले भने महाधिवेशनलाई नीति निर्माणको थलो बनाउने बताएको छ।
सांगठनिक संरचना बदल्ने तयारी
१५औं महाधिवेशनले कांग्रेसको नेतृत्वमात्रै होइन, सांगठनिक संरचनासमेत परिवर्तन गर्ने भएको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले पार्टीका विभिन्न तहबाट सुझाव संकलन गरेको छ।
पदाधिकारी संख्या बढाउनुपर्ने प्रस्तावसमेत समितिमा पुगेको छ। विशेषगरी युवालाई पार्टीको माथिल्लो नेतृत्वमा ल्याउनुपर्ने, महिलाको प्रतिनिधित्व बढाउनुपर्ने र खुला सहमहामन्त्रीको व्यवस्था गर्नुपर्ने सुझाव आएको नेताहरूले बताएका छन्।
विधान संशोधन समितिका सदस्यसचिव प्रताप पौडेलले युवा र महिलाको प्रतिनिधित्व बढाउन दबाब रहेको बताएका छन्। उनले भनेका छन्, ‘यो पटक ३५ वर्षमुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनुपर्ने सुझाव आएको छ।’
हालको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र विभिन्न क्लस्टरबाट आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। सभापतिले थप तीन सहमहामन्त्री र एक कोषाध्यक्ष मनोनयन गर्न सक्ने व्यवस्था पनि छ। अब उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या थप्ने विषयमा छलफल भइरहेको बताइएको छ। यद्यपि, विधान संशोधनका सबै प्रावधान यही महाधिवेशनबाट कार्यान्वयन हुन्छन् वा केही व्यवस्था आगामी महाधिवेशनबाट लागू हुन्छन् भन्ने टुंगो लाग्न बाँकी छ।

यसबीच प्रतिनिधि दर्ताको काम पनि सुरु भइसकेको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेशअनुसार छुट्टाछुट्टै स्थानबाट नाम दर्ता भइरहेको हो। प्रत्येक प्रतिनिधिले तीन हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
दर्तापछि प्रतिनिधिलाई झोला, पार्टी विधान, डायरी, कलम, परिचयपत्र र खाना तथा खाजाका कुपन उपलब्ध गराइएको छ।
महाधिवेशन प्रतिनिधिलाई महाधिवेशनसम्बन्धी सूचना क्युआर कोड र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।
कांग्रेसले प्रतिनिधिको बसोबासका लागि गौशाला, कोटेश्वर, ठमेल, लाजिम्पाट, नयाँ बसपार्क, बालाजु, सुन्धारा र कलंकी क्षेत्रका होटलसँग समन्वय गरेको छ। तर, होटल खर्च प्रतिनिधिले आफैं बेहोर्नुपर्ने छ। विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले बेहोर्ने जनाएको छ।
प्रतिनिधिका लागि बिहान र दिउँसोको खाना पार्टीले उपलब्ध गराउने व्यवस्था गरिएको छ। महाधिवेशनस्थलमा स्वास्थ्य सेवाका लागि चिकित्सक, नर्स र पारामेडिक्ससहित ‘हेल्थ डेस्क’ पनि राखिने भएको छ। आकस्मिक अवस्थाका लागि एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने कांग्रेसले जनाएको छ।
प्रमुख अतिथिमा देउवालाई निम्तो
१५औं महाधिवेशनको अर्को चासो निवर्तमान सभापति देउवाको सहभागिता हो। सभापति थापाले देउवालाई उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा पठाएका छन्।
निमन्त्रणापत्र बोकेर कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीसहितका नेता देउवा निवास पुगेका थिए। तर, उनीहरूले देउवालाई भेट्न सकेनन्। निमन्त्रणापत्र निवासमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमार्फत बुझाइएको थियो।
चौधरीका अनुसार थापाले देउवाकै प्रमुख आतिथ्यतामा महाधिवेशन उद्घाटन गराउने इच्छा व्यक्त गरेका छन्। तर, देउवा छुट्टै महाधिवेशन गर्न अगाडि बढेकाले संस्थापनपक्षको महाधिवेशन उद्घाटनमा नआउने निश्चितजस्तै देखिन्छ। देउवा समूहले आगामी मंसिरमा १५औं महाधिवेशन गर्ने तय गर्दै वडा अधिवेशन सुरु गरिसकेको छ।
कांग्रेसको महाधिवेशन आज उद्घाटन भएपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन गर्ने तयारी छ। त्यसपछि असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने कार्यतालिका बनाइएको छ। त्यसैले आजदेखि सुरु हुने १५औं महाधिवेशन कांग्रेसका लागि अर्को आवधिक महाधिवेशनमात्रै होइन।
परिवर्तनको मूल शक्ति
नेपाली कांग्रेसको जन्म नै राजनीतिक परिवर्तनका लागि भएको थियो। राणा शासनविरुद्ध आन्दोलन गरिरहेका राजनीतिक शक्तिहरूको एकीकरणबाट नेपाली कांग्रेस स्थापना भएको कांग्रेसको इतिहासबारे जानकार डा. जगत नेपालले बताए। उनका अनुसार २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि नेपाली कांग्रेस बनेको हो।
त्यसको केही समयपछि २००७ सालको जनक्रान्ति भयो। राणाशासन समाप्त भयो। देशमा प्रजातन्त्र स्थापना भयो। २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्यो। बिपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने।
तर, २०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार हटाउँदै पञ्चायती व्यवस्था सुरु गरे। कांग्रेस फेरि सडक र संघर्षमा पुग्यो। तीन दशक लामो पञ्चायती शासनविरुद्ध कांग्रेस निरन्तर संघर्षमा रह्यो। २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापित भयो। त्यसपछि पनि कांग्रेसको आन्दोलन रोकिएन।
तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि कांग्रेससहित सात दल आन्दोलनमा उत्रिए। २०६२/६३ को जनआन्दोलनपछि प्रतिनिधिसभा पुनःस्थापना भयो। त्यसपछि शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन र गणतन्त्र स्थापनाको बाटो खुल्यो। २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो।
राणा शासन हटाउने आन्दोलनदेखि राजतन्त्र अन्त्यसम्मका राजनीतिक परिवर्तनमा आफ्नो भूमिका रहेको कांग्रेसले आफ्नो आधिकारिक इतिहासमा उल्लेख गर्दै आएको छ। अब भने कांग्रेससामु व्यवस्था परिवर्तनभन्दा आफूलाई परिवर्तन गर्ने चुनौती रहेको डा. नेपालले बताए।
‘राणा शासनविरुद्ध जन्मिएको, पञ्चायतविरुद्ध संघर्ष गरेको र राजतन्त्र अन्त्यसम्मको राजनीतिक यात्रामा जोडिएको कांग्रेस अब आफ्नै संगठन, विचार र नेतृत्व कति बदल्न सक्छ भन्ने परीक्षा पनि यही महाधिवेशनले लिने छ,’ डा. नेपालले प्रभावसँग भने।
कांग्रेस हाँकेका आठ सभापति
राणा शासनविरुद्धको संघर्षबाट स्थापित नेपाली कांग्रेसले आफ्नो करिब आठ दशक लामो राजनीतिक यात्रामा आठ जना सभापति पायो। कांग्रेसको पहिलो सभापति टंकप्रसाद आचार्य हुन्। २००३ सालमा कलकत्ताको भवानीपुरमा भएको महाधिवेशनबाट उनी सभापति बनेका थिए। त्यसपछि बिपी कोइरालाले कांग्रेसको नेतृत्व सम्हाले। कांग्रेस सभापति उनी तीनपटक भए र उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत बने।
मातृकाप्रसाद कोइराला कांग्रेसको कांग्रेसको तेस्रो सभापति बने। उनले दुईपटक पार्टीको नेतृत्व गरे। त्यसपछि सुवर्णशमशेर राणा कांग्रेस सभापति बने। राणा परिवारमा जन्मिएका सुवर्णशमशेर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए।
पञ्चायतविरुद्धको संघर्षको महत्त्वपूर्ण चरणमा कृष्णप्रसाद भट्टराईले कांग्रेसको नेतृत्व गरे। उनी २०४४ सालमा सभापति बनेका थिए। २०४६ सालको जनआन्दोलनपछि उनी प्रधानमन्त्रीसमेत बने।
त्यसपछि लामो समय कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरे। उनको नेतृत्व बहुदलीय व्यवस्था, माओवादी शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको महत्वपूर्ण चरणसँग जोडिन्छ।
१२औं महाधिवेशनबाट सुशील कोइराला सभापति बने। २०७२ सालमा संविधान जारी हुँदा उनी प्रधानमन्त्री थिए। १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति बने। १४औं महाधिवेशनबाट पनि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भए। गत वर्षको पुस अन्तिम साता विशेष महाधिवेशनबाट उनी नेतृत्वबाट अलग हुनुपर्यो, जहाँबाट पार्टी नेतृत्वमा गगन थापा आए। उनकै नेतृत्वमा कांग्रेस आजदेखि १५औं महाधिवेशनमा होमिँदै छ। महाधिवेशनले कांग्रेसको नवौं सभापति चयन गर्ने छ।