भक्तपुर- कालिञ्चोक दर्शन लिमिटेडको १२औँ वार्षिक साधारण सभा भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटीको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।
सभाले अध्यक्ष शिवाकोटीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको कम्पनीले जनाएको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ।
साधारण सभाले कम्पनीको ६३ करोड रुपैयाँ चुक्ता पुँजीको ८.५ प्रतिशत अर्थात् ५ करोड ३५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बोनस सेयरको कर प्रयोजनका लागि २८ लाख १८ हजार ४ सय २१ रुपैयाँ ५ पैसा नगद लाभांश वितरण गर्ने निर्णयसमेत गरिएको छ।
बोनस सेयर वितरणपछि कायम हुने ६८ करोड ३५ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
त्यस्तै, कालिञ्चोक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडमा २१ करोड ४७ लाख रुपैयाँ लगानी पुँजी रहेको जानकारी सभामा दिइएको थियो। कम्पनीले कृषि, जलविद्युत्, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रलगायतमा लगानी तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न सक्ने प्रस्तावसमेत सभाबाट पारित भएको छ।
सभामा सेयरधनीहरूले कम्पनीको वित्तीय अवस्था, लगानी तथा आगामी योजनासम्बन्धी विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए। ती प्रश्नहरूको जवाफ अध्यक्ष शिवाकोटीलगायत कम्पनीका पदाधिकारीहरूले दिएका थिए।
विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गर्दै विविध कार्यक्रमका बीच कालिञ्चोक दर्शन लिमिटेडको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको कम्पनीले जनाएको छ।