काठमाडौं– सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच स्मल लोन ग्यारेण्टी प्रोग्राम (एसएलजिपी) अन्तर्गत चार करोड अमेरिकी डलरबराबरको रिस्क सेयरिङ साझेदारी सुविधासम्बन्धी सम्झौता आदान प्रदान भएको छ।
बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा आइएफसीले बहन गर्ने यस व्यवस्थाले देशभरका लघु, साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तार गर्ने सिद्धार्थ बैंकको क्षमतालाई थप सुदृढ बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
यो व्यवस्था नेपालमाआईएफसीको पहिलो जोखिम साझेदारी पहल भएकोसमेत बैंकले जनाएको छ।
‘जोखिम साझेदारी सुविधाका लागि आइएफसीसँग भएको यो साझेदारीबाट हाम्रो लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जा पोर्टफोलियो विस्तारको दिशामा एक महत्त्वपूर्ण कदम हुने विश्वास लिएका छौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले भने, ‘साना व्यवसायीहरू चुनौतीपूर्ण आर्थिक परिस्थितिको सामना गरिरहेको यस कठिन समयमा यस सुविधाले देशभरका साना व्यवसायीहरूलाई कर्जा प्रवाह गर्ने हाम्रो क्षमतालाई थप सुदृढ बनाउने अपेक्षा रहेको छ।’