काठमाडौं– नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा मुक्कामुक्कीदेखि धकेलाधकेलसम्मका घटना भएका छन्। मंगलबार देशका विभिन्न क्षेत्रमा भएको अधिवेशनमा नेताहरुबीच मुक्कामुक्की र धकेलाधकेल भएको हो।
सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा हात हालाहाल भएपछि निर्वाचन प्रक्रिया नै केहीबेर रोकिएको थियो। क्षेत्रीय सभापति पदका लागि मनोज साह र गफार अन्सारीले मनोनयन दर्ता गराएपछि निर्वाचन प्रक्रियामा गएको हो।
मतदानपछि धाँधली भएको भन्दै क्षेत्रीय सभापति अयुब अन्सारीले मतपेटिका लडाएर मतपत्र नै छरपस्ट पारेपछि पुनः विवाद बल्झियो। त्यसपछि यो क्षेत्रको निर्वाचन केन्द्रीय निर्वाचन समितिले स्थगित गरेको छ।
यता सिन्धुपाल्चोक क्षेत्र २ मा ५० भन्दा बढी मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएको भन्दै निर्वाचन स्थगित गरिएको छ। महाधिवेशन प्रतिनिधिका उम्मेदवार वंशलाल तामाङले फर्जी मत भेटिएको आरोप लगाएसँगै केही बेर अधिवेशन प्रक्रिया अवरुद्ध भएको थियो। क्षेत्रीय सभापति आइतमान तामाङ पक्षले भने पेलेरै मतदान गराउने तयारी गरेको थियो। सिन्धु–२ मा आइतमान पक्षले कृष्ण तामाङलाई सभापतिको उम्मेदवार बनाएको छ भने वंशलाल पक्षले पासाङ दोङलाई।
विवादका कारण सिन्धुपाल्चोक क्षेत्र १ को अधिवेशन पनि स्थगित भएको छ। अधिवेशनस्थलमा मोहनबहादुर बस्नेत पक्षले विरोध गरेपछि केहीबेर अधिवेशन अवरुद्ध भएको थियो। पछि क्षेत्रीय प्रतिनिधिको नाम नै मतदाता सूचीमा नदेखिएको भन्दै अधिवेशन स्थगित भएको हो।
मोरङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनका क्रममा नेताहरूबीच मञ्चमै धकेलाधकेल भएको छ। मोरङको लेटाङस्थित जनसेवा सामुदायिक वनको भवनमा आयोजित अधिवेशन चलिरहँदा पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बू र क्षेत्रीय सभापतिका उम्मेदवार देवराज चाम्लिङ राईबीच विवाद भएको हो।
बोल्ने पालो नआउँदै राईले माइक समातेर सम्बोधन गर्न थालेपछि विवाद उत्पन्न भएको थियो। जिल्ला सभापति लिम्बूले पोडियम नजिकै पुगेर राईलाई धकेल्दै पालो आएपछि मात्र बोल्न भन्दै रोक्न खोजेका थिए। त्यसपछि दुई नेताबीच चर्को भनाभन भई स्थिति झण्डै हात हालाहालको अवस्थामा पुगेको थियो।
दैलेख–२ मा निर्वाचन प्रक्रियालाई लिएर विवाद भएपछि निर्वाचन पक्षधर समूहले मंगलबार क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेको छ। कांग्रेस जिल्ला सचिव नारायण रेग्मीले निर्वाचन अधिकृत समशेर शाही असोज ९ गते उम्मेदवारी दरखास्त लिएपछि प्रक्रिया अघि नबढाई सम्पर्कविहीन भएको आरोप लगाउँदै तालाबन्दी गरेका हुन्।
देउवापक्ष पर्खन दुई दिन पछाडि सरियो महाधिवेशन
कांग्रेसले १५औं महाधिवेशनलाई दुई दिन पर धकेलेको छ। मंगलबार संशोधित कार्यतालिका सार्वजनिक गर्दै असोज १६ गते हुने भनिएको महाधिवेशन उद्घाटन असोज १८ गतेमात्र गर्ने कांग्रेसले जनाएको छ। असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि सिर्जना भएको घटनाका कारण महाधिवेशन सारिएको मंगलबार केन्द्रीय निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ‘अविरल वर्षा तथा बाढी–पहिरोका घटनालाई मध्यनजर गर्दै नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजेका लागि तय गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
वर्षाको कारण भनिए पनि पूर्वसभापति शेरबहादुर देउवापक्षलाई महाधिवेशनमा समावेश गर्ने प्रयासका लागि सारिएको बताइएको छ। असोज १५ गतेदेखि वडा अधिवेशन गर्न लागेको देउवा समूहले पूर्वसभापतिलाई ‘ग्रेसफुल एक्जिट’ दिनुपर्ने बताउँदै आएको छ। यसका लागि १५औं महाधिवेशन सभापतिकै हैसियतमा देउवाले उद्घाटन गर्नुपर्ने उनीपक्षका नेता वीरबहादर बलायर बताउँछन्।
यता सभापति गगन थापाले भने देउवालाई प्रमुख अतिथिका रुपमा निम्तो पठाउने केन्द्रीय समिति बैठकमा सुनाइसकेको कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए। ‘महाधिवेशनको उद्घाटनमा देउवालाई प्रमुख अतिथि बनाउने घोषणा भइसकेको छ। पूर्वसभापतिको सम्मानजनक एक्जिटका लागि पार्टी सम्पूर्ण रूपले तयार छ,’ सहमहामन्त्री रसाइलीले भने।
देउवापक्षले भने यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। खुल्लमञ्चमा उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्रसहितका कार्यक्रम तथा २१ र २२ गते निर्वाचनसम्बन्धी कार्य हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनको मिति सरेसँगै क्षेत्रीय अधिवेशनको समय पनि लम्ब्याइएको छ। यसअघि क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति असोज १३ गते तोकिएको थियो। अब उक्त समय असोज १५ गतेसम्म थप गरिएको छ।
‘देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी प्राप्त भएको छ। यस परिस्थितिलाई मध्यनजर गरी पार्टीसँगको समन्वयमा महाधिवेशनका कार्यक्रमलाई देहायबमोजिम तय गरिएको हुँदा सोही बमोजिम गर्नु गराउनुहुन केन्द्रीय निर्वाचन समिति सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
संशोधित कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन असोज १६ र १७ गते हुने छ। यसअघि तय गरिएको कार्यतालिकाअनुसार आज असोज १३ गतेसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउनुपर्ने थियो। नयाँ कार्यतालिकाले त्यसको समय दुई दिन थप गरेको हो।